Connect with us
Kapilvast Forest

कपिलवस्तुमा अवैध किवि र कबाडीका सामानसहित एक पक्राउ

२०८२, २९ आश्विन बुधबारमा प्रकाशित

अवधेश जयसवाल-
कपिलवस्तु प्रहरीले जिल्लाका दुई छुट्टाछुट्टै स्थानबाट ५ लाख रुपैयाँभन्दा बढी मूल्यको अवैध किवि र कबाडीका सामान बरामद गरेको छ। तस्करीमा संलग्न एक जना पक्राउ परेका छन्।

प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहका अनुसार कृष्णनगर नगरपालिकाको यात्रु गेटबाट भन्सार छली ल्याइएको १ लाख ८५ हजार २ सय ५० रुपैयाँ मूल्य बराबरको ७ सय ४१ केजी किवि बरामद गरिएको हो।

१३ वटा बोरामा राखिएको उक्त किवि बेवारिसे अवस्थामा फेला परेको थियो। बरामद गरिएको किवि कृष्णनगर भन्सार कार्यालयमा बुझाइएको छ।

यसैगरी, प्रहरीले दोहनीबाट गौरातर्फ जाँदै गरेको ना २ ख ९५५२ नम्बरको ट्रकबाट बिलबिजक बिनाको ३ लाख १५ हजार १५० रुपैयाँ मूल्य बराबरको कबाडी सामान बरामद गरेको छ। ट्रकमा ७ हजार ५ सय ३० केजी प्लास्टिकका कबाडी सामान फेला परेको थियो।

प्रहरीले उक्त ट्रकका चालक मायादेवी गाउँपालिका–६ का सुग्रीव केवटलाई नियन्त्रणमा लिएको छ। बरामद कबाडी सामान, करिब १२ लाख मूल्यको ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवल पठाइएको डीएसपी सिंहले जानकारी दिए।

एक व्यापारी स्रोतका अनुसार भैरहवाबाट ल्याइएका कबाडी सामान मायादेवी गाउँपालिका–४ स्थित गौरा भन्सार नाका नजिकै भण्डारण गरी रातिको समयमा ठेला प्रयोग गरेर भारततर्फ तस्करी हुने गरेको थियो।

उक्त तस्करी हुने स्थान नजिकै सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको युनिट पनि रहेको छ। विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले मंगलबार बिहान उक्त सामान बरामद गरेको हो।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu