कपिलवस्तुमा कालिकाको लिला: पोषणको नाममा, कुपोषण खेती
कपिलवस्तु-
कुपोषित बालबालिकालाई पोषणसम्म पहुँच र सचेतना फैलाउने भन्दै दुई दशकदेखि पोषण क्षेत्रमै क्रियाशील संघ–संस्थाले कुपोषण खेती चलाएको तथ्य उजागर भएको छ । कुपोषणको डरलाग्दो तथ्याङ्क देखाउँदै दातृ निकायसँगको डलर खेतीले स्थानीयको पोषणमा सुधारभन्दा शोषण बढी भइरहेको बताइन्छ ।
देशमा कुपोषित जिल्लाहरूको अग्र स्थानमा रहेका जिल्लामा ४६ प्रतिशत बालबालिका कुपोषणबाट ग्रस्त देखिन्छन् । उक्त अवस्था सुधारका लागि सन् २००५ बाट युनिसेफको ‘स्कुल लिड टोटल स्यानिटेशन’ कार्यक्रम सुरु भएपनि अवस्थामा कुनै सुधार देखिँदैन ।
कुपोषण क्षेत्रमा सबैभन्दा बढी र ठूलो कार्यक्रम चलाएको संस्थाको रुपमा कालिका स्वावलम्बन सामाजिक केन्द्र देखिएको छ । सन् २०१० बाट सेभ द चिल्ड्रेनको सहयोगमा स्कुल पोषण कार्यक्रम चलाएको कालिकाले सन् २०१४ देखि २०२३ सम्म सुआहारा कार्यक्रम चलायो । दुई चरणमा कार्यक्रम गरेको यस संस्थाले नौ करोड बढी रकम पोषण तथा सरसफाइमा खर्च गरेको बताइन्छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रमअन्तर्गत ‘सुनौलो हजार दिन’का नामबाट १० वर्ष चलेको सो कार्यक्रमले कुपोषणको क्षेत्रमा ठूलो प्रगति भएको र जिल्लाका ६० हजार घरधुरी लाभान्वित भएको कालिकाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ। तर हेलन केलर नामक गैरसरकारी संस्थाले सन् २०२२÷२३ मा गरेको सर्वेक्षणले कुपोषणको अवस्था झनै गम्भीर देखायो। यहाँका छ महिनादेखि ६ वर्षमुनिका ४६ प्रतिशत बालबालिकामा कुपोषण देखियो।
सोही तथ्यांक र अवस्थामै कुपोषित बालबालिकालक्षित अर्को कार्यक्रम आयो—“पोषणमार्फत जीवन रूपान्तरण कार्यक्रम”। उक्त कार्यक्रम पनि हेलन केलरमार्फत काठमाडौंको आइडी नेपाल र त्यसमार्फत स्थानीय साझेदार संस्था भन्दै कालिकालाई नै छनोट गरियो। सन् २०२४–२९ सम्म चल्ने यो कार्यक्रममा हेलन केलर र आइडी नेपालमार्फत् कालिकाले वार्षिक करिब ६ करोड बजेट खर्च गरेको बताइन्छ। दातृ निकायबाट कुपोषितका नाममा आएको रकम कालिका तथा आइडी नेपालमार्फत् पछिल्ला कार्यक्रमहरूजस्तै दुरुपयोग हुन सुरु भएका छन्।

पोषणको नाममा व्यापार
पोषणयुक्त र सन्तुलित भोजनको अभावमा हुने कुपोषणमा लगानी नगरी संस्थाले अनलाइन व्यापार, मलखाद खरिद, दाना–चल्ला खरिदमा विशेष ध्यान दिएको छ। पहिचान भएका २५ सय घरधुरीलाई स्थानीयस्तरमै सहजै सस्तो पर्ने सामानहरू अनलाइनबाट आइडी नेपालको निर्देशनमा कालिकाले जबरजस्ती खरिद गराउँछ। इग्रो डिजिटल प्लेटफर्म नामक अनलाइनसँग कालिकाले सम्झौता गरेको र त्यसैबाट सामान किन्नुपर्ने बाध्यता रहेको यशोधरा–५ की कुपोषित परिवारकी मैना पण्डित बताउँछिन्। अनलाइनबाट नकिने परिवारलाई सामान खरिदमा दिने ७० प्रतिशत अनुदान नदिने गरेको उनको भनाइ छ। 
इग्रो डिजिटल बजारमा पाइने सामान कमसल र महँगो भएको कार्यक्रममा आबद्ध परिवारको आरोप छ। ७० रुपैयाँ पर्ने स्यानिटरी प्याड १०० रुपैयाँ, ३५ रुपैयाँ पर्ने न्याप्किन ५० र ८० रुपैयाँ पर्ने वाइप्स १२५ रुपैयाँ महँगो छ। ‘सबै सामान यहाँ सजिलै र सस्तो पाइन्छ, तर जबरजस्ती किनेर व्यापार चलाइन्छ,’ एक पीडितले भनिन्।
‘अनलाइन आएका सामान विग्रेका हुन्छन्, खिया लागेका नङकटले नङ काटेर पोषणमा सुधार हुन्छ भनिन्छ,’ भन्दै किनेको नङकट देखाउँदै उनले भनिन्। सामान खरिद गर्ने परिवारलाई बिल समेत नदिई भरपाई मात्र गराउने गरेको समेत परिवारले गुनासो गरे।

आफ्नालाई बजेटः
कालिका संस्था र तिनका कर्मचारी राजनीतिबाट प्रभावित भई लक्षित वर्गबाहिरका परिवारमाथि लगानी गरेको समेत आरोप छ। संस्थाका कार्यकारी निर्देशक रामेन्द्र रावलले आइडी नेपालका पोषण प्रमुख सुशीलराज घिमिरेको दबाबमा कांग्रेस नेता तथा पूर्वमन्त्री दीपकुमार उपाध्यायको लगानी रहेको एग्रीवस्तु कोल्ड स्टोर प्रालिलाई ट्राइको भर्मि कम्पोष्ट मल उत्पादनका लागि ५ लाख रुपैयाँ सहयोग गरेका थिए। संस्थाले प्रस्ताव आह्वान नै नगरी सिधै एग्रीवस्तुलाई सहयोग, साथै त्यहाँबाट उत्पादित ११ सय बोरा मल खरिद समेत गरेको थियो। उक्त सबै खरिद तथा अनुदान सार्वजनिक खरिद ऐन विपरीत रहेको संस्थाकै कार्यसमितिका एक सदस्यको आरोप छ। त्यति मात्र नभई कुपोषितहरूको नाममा आएको बजेटबाट कालिका संस्थाले कांग्रेस नेता दीपक कुमारकै एग्रीवस्तुमा सञ्चालित ’एग्रीवस्तु कृषि तारा’ कार्यक्रमलाई सहयोग गरेको थियो। कार्यक्रममा हेलन केलर, आइडी नेपाल र कालिकाको लोगो समेत प्रयोग भएको थियो। यति मात्र नभई आइडीअन्तर्गतको डेमो प्लट र टनेल निर्माण कुपोषित परिवारलाई दिनुपर्नेमा कालिकाले यशोधरा–५ का स्थानीय कांग्रेस नेता अशोक मिश्रालाई दिएको थियो। करिब ५० हजार खर्च भएको उक्त नमुना टनेल पाउने मिश्रलक्षित वर्गबाहिरका र त्यहाँका सम्पन्नशाली व्यक्ति हुन्।

चल्ला किन्न डेढ करोड
कालिकाले सन् २०२४ मा कुपोषित परिवारका लागि भनेर दाना–चल्ला खरिदमै करिब डेढ करोड खर्च गरेको कर्मचारी स्रोतको दाबी छ। संस्थाले स्थानीय स्तरमै चल्ला–दाना विक्रेता हुँदाहुँदै काठमाडौं स्थित श्रीनगर एग्रोटेक कम्पनीबाट १ करोड ४० लाखको दाना र चल्ला खरिद गरिसकेको छ। “कुन विधिले खरिदकर्ता छनोट भयो थाहा भएन, तर भुक्तानी र छनोट पारदर्शी छैन,” एक सदस्यले भने। कुपोषित परिवारलाई दिइने दाना–चल्ला समेत पूरा नआउने फील्डमा कार्यरत कर्मचारी बताउँछन्। “दाना आउँदा चल्ला आउँदैन, चल्ला आउँदा दाना,” उनीहरू भन्छन्।
यता कालिका संस्थाका अध्यक्ष मन्दिप सिंहले आइडी नेपालकै निर्देशनमा संस्थाले सबै काम गर्ने गरेको दाबी गरे। आइडीले नै भनेर इग्रो डिजिटल प्लेटफर्म, एग्रीवस्तु र श्रीनगर एग्रोटेक कम्पनीसँग सम्झौता गरेर काम गरिएको बताए।
सभार: जनाअस्था अनलाइन