कपिलवस्तु शिवराजका नागरिक अन्धकारमा बस्न बाध्य
न्युजसेन्टर नेपाल,
कपिलवस्तु-
कपिलवस्तुको शिवराज नगरपालिकाले घरकर रसिद नदिँदा वडा नम्बर ५ का दर्जनौँ नागरिक अन्धकारमा बस्न बाध्य भएका छन् । वडा कार्यालयले घरकर तथा पहिचान सम्बन्धी सिफारिस नदिँदा विद्युत् जडान हुन नसकेको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
वडा नम्बर ५ का स्थानीयवासीहरूले पटक–पटक वडा कार्यालय तथा चन्द्रौटास्थित नगरपालिकामा धाउँदा पनि सुनुवाइ नभएको बताएका छन् । पीडित शोभा रानाका अनुसार वडाध्यक्ष नेत्र प्रसाद बेल्बासेले बारम्बार अनुरोध गर्दा समेत कुनै चासो नदेखाउनु भएको छ ।
रिमा घर्तीले आँसु पुछ्दै वडा कार्यालयमा पटक–पटक गएर जानकारी गराउँदा पनि समस्या समाधान नभएको बताउनुभयो । उहाँले घरमा बत्ती नहुँदा दैनिक जीवन अत्यन्तै कष्टकर बनेको गुनासो गर्नुभयो ।
त्यस्तै खुबीसराले विद्युत् अभावका कारण नानीबाबुहरूको पढाइसमेत प्रभावित भएको बताउँदै तत्काल समस्या समाधान गर्न माग गर्नुभयो ।
वडाले आवश्यक सिफारिस नदिँदा मनिषा गन्धर्व, विष्णु माया खत्री, नन्दकुमारी नेपाली, खुसी सारा सारु, हेमबहादुर खड्का, धनबहादुर पाता, रिमा घर्ती, माया चौधरी, वासुदेव यादव, मिना भट्टराई घिमिरे, दिलकुमारी थारु, संजय परियार, मिना नेपालीलगायत दुई दर्जनभन्दा बढी नागरिक विद्युत् सुविधाबाट वञ्चित भएका छन् ।
यस विषयमा वडा नम्बर ५ का वडाध्यक्ष नेत्र प्रसाद बेल्बासेले भने सार्वजनिक तथा ऐलानी जग्गा कब्जा गरी घर निर्माण गरिएको पाइएकोले वडा सिफारिस रोकिएको बताउनुभयो । ऐलानी तथा बन क्षेत्रको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका संरचनालाई संरक्षण गर्ने उद्देश्यले सिफारिस नदिइएको उहाँको भनाइ छ ।
सम्पन्न तथा आर्थिक हैसियत भएका व्यक्तिहरूले समेत सार्वजनिक जग्गा कब्जा गरेर घर बनाएको पाइएकाले त्यस्तो कार्यलाई निरुत्साहित गर्न सिफारिस रोकिएको वडाध्यक्ष बेल्बासेले स्पष्ट पार्नुभयो ।
भिडियो हेर्नुस