शीर्ष नेता को–कहाँबाट एकल सिफारिस
समानुपातिक उम्मेदवार मनोनयनसँगै २१ फागुनमै प्रतिनिधिसभा निर्वाचन हुने माहोल बनेपछि प्रमुख राजनीतिक दलहरू १६५ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार छनोट प्रक्रियामा जुटेका छन् । चुनावको मिति आउन अब दुई महिना मात्रै बाँकी रहेकाले उपलब्ध हुने सीमित प्रचार अवधिलाई ध्यान दिँदै दलहरू प्रत्यक्षतर्फका उम्मेदवार टुंग्याउने प्रक्रियामा लागेका हुन् ।
कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार नेपालको नाम एकल सिफारिस भएको छ । देउवाको डडेल्धुरा, ओलीको झापा ५, प्रचण्डको कालीकोट र नेपालको रौतहट २ बाट एकल सिफारिस छ ।
रास्वपा अध्यक्ष रवि लामिछानेको भने चुनाव लड्ने–नलड्ने टुंगो लागेको छैन । अन्य साना दलका प्रमुख नेताहरूको नाम भने सिफारिस हुन बाँकी छ । प्रत्यक्षतर्फका उम्मेदवारका लागि निर्वाचन आयोगले ६ माघको बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेको छ । ९ माघमा आयोगले उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गर्ने तथा त्यही दिन उम्मेदवारलाई निर्वाचन चिह्न दिने कार्यतालिका छ ।