Connect with us
Kapilvast Forest

धादिङ–१ : पुराना प्रतिस्पर्धीविरुद्ध कांग्रेसका रिजाल र रास्वपाकी तामाङ

२०८२, ११ माघ शनिबारमा प्रकाशित

धादिङ –

आसन्न निर्वाचनमा धादिङ–१ मा पुराना प्रतिस्पर्धीलाई नयाँ युवा पुस्ताले चुनौती दिने निश्चित देखिएको छ । आगामी निर्वाचनको सरगर्मी बढेसँगै धादिङ निर्वाचन–१ को समीकरण पनि रोचक मोडमा पुगेको हो।धादिङ–१ मा धुनिबेसी नगरपालिका सहित बेनीघाट रोराङ, सिद्धलेक, गजुरी, गल्छी र थाक्रे गाउँपालिका पर्दछन् । एमालेको पकड रहेका केही क्षेत्रमा कांग्रेस र नेकपा तथा रास्वपाका उम्मेदवारले चुनौती दिने देखिन्छ ।

यस क्षेत्रमा एमालेबाट भूमि त्रिपाठी, कांग्रेसबाट कृष्ण रिजाल, नेकपाबाट राजेन्द्र पाण्डे, रास्वपाबाट आशिका तामाङ, राप्रपाका गीताप्रसाद आचार्य, नेमकिपाकी चन्द्रादेवी वासुकला र अन्य स्वतन्त्र उम्मेदवारहरूले पनि आ–आफ्नो प्रभाव जमाउने प्रयास गरिरहेका छन् । प्रगतिशील लोकतान्त्रिक पार्टीबाट राजनप्रसाद रेग्मी, श्रम संस्कृति पार्टीबाट प्रलाद सिलवाल, नेशनल अर्गनाइजेशन पार्टीबाट रिन्छेन तामाङ र उज्यालो नेपाल पार्टीबाट श्यामराज पाण्डे उम्मेदवार बनेका छन् । सोही क्षेत्रमा संयुक्त नागरिक पार्टीबाट डम्बरबहादुर लिम्बु र आम जनता पार्टीबाट जाल्पा देवी रेग्मीले पनि उम्मेदवारी दर्ता गराएका छन् । स्वतन्त्र उम्मेदवारहरूमा हरि भण्डारी, राजेश भट्टराई, निरञ्जन सन्जेल, ध्रुवप्रसाद पाण्डे, धर्मराज नेपाल, दीपक तामाङ र तपन उप्रेती रहेका छन् ।

विगतका निर्वाचनमा मुख्य प्रतिस्पर्धीका रुपमा रहेका नेतालाई नयाँ उत्साहका साथ चुनावी मैदानमा उत्रिएका युवा नेताले टक्कर दिने निश्चित देखिएको हो । पुराना प्रतिस्पर्धी बिचको भिडन्तमा कांग्रेसका कृष्ण रिजाल र रास्वपाकी तामाङको उम्मेदवारीले यस क्षेत्रको निर्वाचनलाई रोचक बनाइदिएको छ ।धादिङ–१ मा विगत चार दशक बढी समयदेखि राजनीतिमा दबदबा राख्दै आएका नेकपाका नेता राजेन्द्रप्रसाद पाण्डे र नेकपा एमालेका भूमिप्रसाद त्रिपाठी पुनः आमनेसामने भएका छन् । २०४३ सालदेखि सो क्षेत्रको चुनावी राजनीतिमा अभ्यस्त पाण्डे बागमती प्रदेशका पूर्व मुख्यमन्त्री समेत हुन् । अनुभवी र राजनीतिका चतुर खेलाडी मानिने पाण्डेले गत २०७९ को निर्वाचनमा त्रिपाठीलाई ७ हजार ९ सय ८१ मतान्तरले पराजित गरेका थिए ।

अर्कोतर्फ, एमालेका भूमिप्रसाद त्रिपाठी आफ्नो पुरानो विरासत फर्काउने दाउमा छन् । २०७४ को निर्वाचनमा धादिङ–१ बाटै प्रतिनिधिसभामा विजयी भएका त्रिपाठीको यसपटकको मुख्य चुनौती आफ्नै राजनीतिक गुरु पाण्डेलाई रोक्नु र पार्टीको सङ्गठनलाई सुरक्षित राख्नु हो । पाण्डे तत्कालीन समयमा एमालेमा रहेका थिए । २०७४ मा सो क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनको तयारी गरेका पूर्व मन्त्री समेत रहेका पाण्डेले टिकट नपाएपछि बागमती प्रदेशसभा सदस्यमा निर्वाचन लडेका थिए ।

त्रिपाठीले टिकट पाउँदा पाण्डेलाई मुख्यमन्त्री बनाउने बचनका साथ प्रदेशमा चुनाव लडाइएको थियो । सो निर्वाचनमा दुवैले जित निकाले तर, पाण्डे मुख्यमन्त्री बन्न पाएनन् । एमाले विभाजन पछि एकीकृत समाजवादीमा रहेका पाण्डे २०७८ कात्तिकमा गठबन्धन सरकारको मुख्यमन्त्री बने । पाण्डेले १४ महिना सरकार चलाए र २०७९ को निर्वाचनमा धादिङ–१ मा प्रतिनिधिसभा लडे । सो प्रतिस्पर्धामा त्रिपाठी पराजित भए भने पाण्डेले जित निकाले ।

जेनजी आन्दोलन पछिको यस अवस्थामा धादिङ–१ मा चर्चामा रहेका पात्र हुन् कांग्रेस उम्मेदवार कृष्ण रिजाल । कांग्रेसका पूर्व क्षेत्रीय सभापति तथा नेपाल तरुण दलका केन्द्रीय सदस्य रिजाल पहिलो पटक संसदीय निर्वाचनमा उत्रिएका छन् । बौद्धिक र शालीन छवि बनाएका रिजालको उम्मेदवारीले पुराना नेताहरूलाई दबाबमा पारेको देखिन्छ ।रिजालले आफ्नो प्रतिस्पर्धा अरू उम्मेदवारसँग भन्दा पनि ‘स्वयम् आफूसँग’ भएको बताउँदै नागरिकको मत जित्नेमा विश्वास रहेको बताउँदै आएका छन् । उनलाई यस क्षेत्रमा कांग्रेसको बलियो सङ्गठन र नयाँ युवा अनुहार खोज्ने मतदाताको भर छ । मूलतः पाण्डेको अनुभव, त्रिपाठीको सङ्गठन तथा रिजाल र तामाङको नयाँ ऊर्जाले यहाँको भिडन्त रोचक बनाउने देखिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu