म्याग्दीमा निर्वाचन, पोखरामा प्रचार
म्याग्दी-
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दीमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवारहरू भोट माग्न भने गण्डकी प्रदेश राजधानी पोखरा धाइरहेका छन् ।म्याग्दीका ठुलो संख्याका मतदाता पोखरामै बस्ने भएकाले उम्मेदवारको ध्यान त्यतातिर बढी तानिएको छ । म्याग्दीका गाउँमा मतदाता नामावली भएका, तर शिक्षा, व्यापार–व्यावसाय र अन्य कामको सिलसिलामा पोखरामा बसोबास गर्ने म्याग्देलीको संख्या ठुलो छ ।
यस्तै नेपाली कांग्रेसका उम्मेदवार कर्णबहादुर भण्डारी (केबी) र स्वतन्त्र उम्मेदवार डा. महावीर पुन पनि मतदाता भेटघाटका लागि समय मिलाएर पोखरा जाने तयारीमा छन् । आफ्नो क्षेत्रका मतदातामाझ पुगेर अपेक्षा, गुनासा र सुझाव सुन्ने बेला भएकाले पोखरामा बस्ने मतदातासम्म पनि पुगेको एमालेका श्रेष्ठ र नेकपाका थापा बताउँछन् ।अघिल्लो पटक(२०७९) सम्मका निर्वाचनमा दल तथा उम्मेदवारका चुनावी प्रचारप्रसार जिल्लाभित्र सीमित थियो । यसपालि चिसोका कारण लेकाली क्षेत्रका अधिकांश मतदाता सहर पसेका छन् । त्यसैले उम्मेदवार पनि मतदाता खोज्दै सहरमै बढी समय बिताइरहेका छन् ।
जिल्लाको बेनी बजार र देशका अन्य सहरी क्षेत्रमा बस्ने मतादातासम्म पुग्न दलहरूले यसपटक आफ्ना कमिटीहरू नै बनाएका छन् । जसमा उम्मेदवारका आफन्त, साथीसंगीदेखि पार्टी कार्यकर्तासम्म सक्रिय छन् ।भेटका क्रममा उम्मेदवारहरू मतदातालाई फागुन २१ मा भोट हाल्न जसरी पनि गाउँमा फर्किनेगरी वातावरण मिलाइदिन पनि आग्रह गरिरहेका छन् भने मतदाता भने जिल्ला र गाउँमै बसेर सहज रोजगारी र जीवनयापनको वातावरण मिलाउन भनिरहेका छन् ।
पोखरामा अस्थायी बसोबास गरिरहेका म्याग्दीको धवलागिरि गाउँपालिका–७ धारापानीका झलक थापा गाउँमा नै आयआर्जन, रोजगारीको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुविधाको व्यवस्था मिलाउन नेताहरूको ध्यान पुग्नुपर्ने बताउँछन् ।पोखरामै बसिरहेका धवलागिरि–१ गुर्जाका रामबहादुर छन्त्यालले उम्मेदवारको चासो भोटमा भए पनि आफ्नो चासो विकास र जनजिविकाका विषयमा भएको बताए । ‘नेताहरू भोट माग्न मात्रै आउँछन्, काम गर्दैनन् । पहिले भोट माग्न गाउँ आउँथे, अहिले हामीलाई खोज्दै सहरसम्म पुग्नथाले,’ उनले भने, ‘जनताको चासो विकास हो । हाम्रो गुर्जा गाउँमा अझैसम्म सडक पुगेको छैन । गाउँमा सहज यातायातको सुविधा भए कृषि गरेर र जडिबुटीको व्यावसाय गरेर खान सकिन्थ्यो ।’
बढ्दो बसाइँसराइ
म्याग्दीमा पछिल्लो समय बसाइसराइँको बढ्दो चिन्ता छ । बसाइँसराइकै कारण जनसंख्या र मतदाता संख्या घट्ने जोखिममा छ ।फागुन २१ को प्रतिनिधिसभा निर्वाचनमा यहाँ कुल ८६ हजार ३९७ जना मतदाता कायम भएका छन् । जसमा ४२ हजार ३३२ पुरुष, ४४ हजार ६४ महिला र एक जना यौनिक तथा लैंगिक अल्पसंख्यक छन् । जिल्ला निर्वाचन अधिकारी विमलप्रसाद गौतमका अनुसार अघिल्लो निर्वाचनको तुलनामा यो निर्वाचनमा २७७ जना मात्र मतदाता थपिएका हुन् । २०७९ को संसदीय निर्वाचनमा यहाँ ८६ हजार १२० जना मतदाता थिए ।
म्याग्दी बहुमुखी क्याम्पसमा समाजशास्त्र प्राध्यापक गोरखबहादुर जिसीले गण्डकी प्रदेशको म्याग्दी, स्याङ्जा र पर्वत जिल्लामा बसाइँसराइ चिन्ताजनक रहेको बताउँछन् ।‘गाउँमा पुगेको सडक, विद्युत्, खानेपानी, सञ्चार सुविधाले मानिसलाई रोक्न सकेको छैन,’ उनी भन्छन्, ‘गाउँमै रोजगारी र आयआर्जनको अवसर उपलब्ध भएन । यही कारण मानिसहरू सहर र सुविधा भएका क्षेत्रमा सरिरहेका छन् ।’
प्रतिस्पर्धी को–को?
एकमात्रै निर्वाचन क्षेत्र रहेको म्याग्दीमा यसपटक कांग्रेस, एमाले नेकपाबिचको मुख्य प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवारी दिएका पूर्व मन्त्री महावीर पुनको ‘इन्ट्री’ भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट उम्मेदवारी दिएका युवराज रोकाले पनि स्वतन्त्र उम्मेदवार पुनलाई सर्मथन गरेका छन् ।यस्तै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा (माओवादी)ले संशस्त्र संघर्षकालीन भूमिगत राजनीति गरेका म्याग्दी बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति क्षेत्रबहादुर घिमिरे (ध्रुब )लाई उम्मेदवार बनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट डम्मरबहादुर सुवेदी, प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)बाट देवेन्द्र कामी, श्रम संस्कृति पार्टीबाट विनोद राना, राष्ट्रिय जनमोर्चाबाट छेमबहादुर विश्वकर्मा, मंगोल नेशनल अर्गनाइजेसनबाट भीमबहादुर लामा र नेशनल रिपब्लिकन नेपालबाट तुलप्रसाद गर्बुजा उम्मेदवार छन् ।उम्मेदवारहरूले नीति–निर्माण तहमा म्याग्दीका आवाज उठाउने, कानुनमा जिल्लाबासीको भावना र समस्यालाई सम्बोधन गर्ने, सरकारका योजना तथा बजेटमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्ने, पर्यटन र कृषिमार्फत रोजगारी सिर्जना तथा जलविद्युत्मा लगानीको वातावरण बनाउने मुद्दालाई जोड दिएका छन् ।