कास्कीमा ७७ जनाले निजी हातहतियार बुझाए
यही माघ २० गतेभित्र इजाजत प्राप्त हातहतियार बुझाउन गरिएको सार्वजनिक सूचनाका आधारमा उक्त सङ्ख्यामा हातहतियार प्राप्त भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
‘जेनजी प्रदर्शनका क्रममा लुटिएका हातहतियार पनि अधिकांश फिर्ता भएका छन्। व्यक्तिले अनुमति लिएर राखेका हतियार पनि बुझाइएका छन्’, उनले भने, ‘निर्वाचन सुरक्षाका दृष्टिले कास्कीमा कुनै किसिमको जोखिम छैन, सुरक्षा व्यवस्था मजबुत छ।’
हातहतियार बुझाउँदा दिइएको निस्साका आधारमा आगामी चैत २० गतेपछि ती हतियार सम्बन्धित व्यक्तिलाई फिर्ता गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। निर्वाचनलाई लक्ष्य गरी जिल्लाको शान्तिसुरक्षालाई चुस्त र प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकायले काम गरिरहेका सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए। उनका अनुसार निर्वाचन सुरक्षार्थ कास्कीमा ९५७ जना प्रहरी परिचालन गरिने छ भने दुई हजार ८०० निर्वाचन प्रहरी खटाइने छ।
एकीकृत सुरक्षा योजनाअनुसार मतदानस्थलको भित्री सुरक्षा घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी परिचालन हुनेछन्। दोस्रो तहको सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र बाहिरी तहको सुरक्षामा नेपाली सेना परिचालन हुने जिल्ला सुरक्षा समितिले जनाएको छ। तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा १५३ मतदानस्थल रहेका छन्। जिल्लामा गण्डकी प्रदेशकै सबैभन्दा बढी तीन लाख आठ हजार ५७२ मतदाता रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।