जग्गा हडप्न कार्यवाहक अध्यक्षद्वारा किर्ते सिफारिस गरेको आरोप
जानु पाण्डे–
कपिलवस्तुमा स्रेस्ता कायम भए पनि लालपुर्जा जारी नभएको करिब ६ बिघा खेतीयोग्य जग्गा हडप्ने उद्देश्यले नक्कली हकवाला खडा गरी वडा कार्यालयबाट किर्ते सिफारिस गरिएको आरोप सार्वजनिक भएको छ।
शिवराज नगरपालिका–८ (साबिक महदेइया गाविस)को पटपरस्थित अभिलाख दुवेको नाममा स्रेस्ता कायम रहेको ५ बिघा ९ कट्ठा ९ धुर जग्गाको हक कायम गराउन नक्कली सिफारिस तयार गरी जग्गा कब्जा गर्ने प्रयास भएको स्थानीयको दाबी छ।
गत जेठ १३ गते वडा कार्यालयबाट चलानी नम्बर १४४७ मा जारी गरिएको सिफारिसपत्रमा मृतक अभिलाख दुवेका सबैभन्दा नजिकका एकमात्र हकवाला गौरमती पाण्डे रहेको उल्लेख गरिएको छ। उक्त पत्रमा अभिलाख दुवेको २०३३ सालमा मृत्यु भएको र हकवालासम्बन्धी पटक–पटक सूचना जारी गर्दा पनि कसैले दाबी नगरेकाले गौरमती पाण्डेलाई हकवाला सिफारिस गरिएको जनाइएको छ। सिफारिसपत्रमा कार्यवाहक वडाध्यक्षको जिम्मेवारीमा रहेका वडा सदस्य बिनु विकको हस्ताक्षर रहेको छ।
तर वडा सदस्य विकले आफूले सिफारिस गरिएको व्यक्तिलाई नचिनेको र बिरामी भएर घरमा आराम गरिरहेका बेला झुक्याएर हस्ताक्षर गराइएको दाबी गर्नुभएको छ।
वडा सचिव छठ्ठीराम यादवका अनुसार उक्त सिफारिस वडा कार्यालयमा तयार गरिएको नभई बाहिरबाट ल्याइएको कागजातमा झुक्याएर हस्ताक्षर गराइएको देखिएको छ। आफू कार्यालयमा अनुपस्थित रहेका बेला अन्य कर्मचारीले वास्तविकता नबुझी चलानी गरिदिएको उहाँको भनाइ छ।
स्थानीय सुशीलकुमार शुक्लका अनुसार अभिलाख दुवे स्थानीय जमिनदार थिए र उहाँ अविवाहित हुनुहुन्थ्यो। उहाँको मृत्युपछि जग्गा जोतभोग गर्दै आएका कृषक काशीराम शुक्लले २०५१ सालमा जग्गाको खिचोला मिलाइपाऊँ भन्दै अदालतमा मुद्दा दायर गरेका थिए।
अदालतले अभिलाख दुवे अविवाहित रहेको ठहर गर्दै उहाँका भाइ जगन्नाथ दुवेका तीन छोरा पारसनाथ, राजेन्द्रनाथ र एक बुहारीलाई हकवाला कायम गरी मिलापत्र गराएको थियो। ती चारै जना भारतको गोण्डा जिल्लामा बसोवास गर्ने भारतीय नागरिक रहेको शुक्लले बताउनुभयो।
वडाध्यक्षको भूमिकामाथि पनि प्रश्न
अदालतको फैसलामा अभिलाख दुवे अविवाहित रहेको र २०२९ सालमै मृत्यु भएको उल्लेख छ। तर शिवराज नगरपालिका–८ का वडाध्यक्ष रिजवान अहमदले २०८२ मङ्सिर ५ गते जारी गरेको मृत्यु दर्ता प्रमाणपत्रमा अभिलाख दुवेकी पत्नी रम्भावती दुवे रहेको तथा उहाँको २०३३ सालअघि नै मृत्यु भएको उल्लेख गरिएको कागजात फेला परेको छ।
वडा नं. ११ निवासी गौरमती पाण्डेको निवेदनका आधारमा आवश्यक सर्जमिन प्रक्रिया नगरी सोझै मृत्यु दर्ता प्रमाणपत्र जारी गरिएको खुलेको छ।
स्थानीयका अनुसार पटक–पटक विवादमा परेको जग्गाका विषयमा सर्जमिन नगरी निवेदनकै आधारमा सिफारिस र प्रमाणपत्र जारी गरिनुले वडा कार्यालयको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ।
यता वडाध्यक्ष रिजवान अहमदले भने सिफारिस गरिएको व्यक्तिलाई आफूले नचिनेको र वडा कार्यालयबाट झुक्किएर सिफारिस भएको दाबी गर्नुभयो। घटनासँग सम्बन्धित सिफारिस तथा अन्य कागजात बदर गराउने उद्देश्यले अदालतमा पत्राचार गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो।
यस घटनाले लालपुर्जा जारी नभएका जग्गाको अभिलेख व्यवस्थापन, हकवाला प्रमाणीकरण प्रक्रिया तथा वडा कार्यालयबाट जारी हुने सिफारिसको विश्वसनीयतामाथि गम्भीर प्रश्न उठाएको छ।
सभार गोरखापत्र