Connect with us
Kapilvast Forest

कपिलवस्तु: हरियाली होटलबाट ढल सिधै सुरही खोलामा, दुर्गन्धले स्थानीय र यात्रु हैरान

२०८३, २७ श्रावण बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
कपिलवस्तुको चोरखोला क्षेत्रमा रहेको हरियाली होटलबाट निस्कने शौचालयको ढल सिधै सुरही खोलामा मिसाइएपछि खोला दुर्गन्धित बन्दै गएको स्थानीयले आरोप लगाएका छन् । होटलबाट निस्कने फोहोर तथा ढल व्यवस्थापन नगरी खोलामा मिसाउँदा चोरखोला गाउँको वातावरणसमेत प्रभावित भएको स्थानीयको भनाइ छ ।
स्थानीयका अनुसार केशव सुनारले राष्ट्रिय वन क्षेत्र अतिक्रमण गरी हरियाली होटल सञ्चालन गरिरहेको आरोप छ । होटलको शौचालयबाट निस्कने ढल सिधै सुरही खोलामा मिसाइँदा खोला प्रदूषित हुनुका साथै आसपासको क्षेत्रमा दुर्गन्ध फैलिएको स्थानीयले बताएका छन् ।
स्थानीयले वनका कर्मचारी तथा केही युवाहरूलाई निःशुल्क मदिरा खुवाएर राष्ट्रिय वन क्षेत्र कब्जा गरी होटल सञ्चालन गरिएको आरोपसमेत लगाएका छन् ।
राष्ट्रिय वन क्षेत्रमा सञ्चालन भइरहेको भनिएको होटल बन्द गराउन माग गर्दै स्थानीयले डिभिजन वन कार्यालय गौतम बुद्ध चन्द्रौटामा निवेदन समेत दिएको बताएका छन् ।
तर निवेदन दिएको लामो समय बितिसक्दा पनि कार्यालयले कुनै सुनुवाइ नगरेको स्थानीय राहुल पुनले बताए ।
होटलबाट फैलिएको दुर्गन्धका कारण पूर्व–पश्चिम राजमार्ग हुँदै आवतजावत गर्ने यात्रुसमेत प्रभावित भएको घोराहीबाट बुटवलतर्फ जाँदै गरेका यात्री सुगम बोहराले बताए । उनका अनुसार होटल क्षेत्रमा रोकिँदा शौचालयबाट आएको दुर्गन्ध निकै असह्य हुने गरेको छ ।
होटलमा रोकिएर नास्ता गर्ने क्रममा शौचालयको दुर्गन्धका कारण आफूलाई बान्ता भएको एक महिला यात्रुले गुनासो गरिन् । उनले स्थानीय प्रशासनको अनुगमन तथा नियमन प्रभावकारी नभएको भन्दै प्रश्न उठाइन् ।
“कस्तो खालको यहाँको प्रशासन हो ? कुनै किसिमको अनुगमन पनि छैन, न कुनै किसिमको नियमन छ,” उनले गुनासो गरिन् ।
यस विषयमा होटल सञ्चालक केशव सुनारको प्रतिक्रिया लिन पटक–पटक सम्पर्क गर्न खोजिए पनि उनको मोबाइल नम्बर ९८४४०६०३८१ स्विच अफ रहेको पाइयो ।

होटल सञ्चालनका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गरिएको तथा ढल खोलामा मिसाइएको सम्बन्धमा डिभिजन वन कार्यालय गौतम बुद्धले आधिकारिक प्रतिक्रिया सार्वजनिक गरेको छैन ।
स्थानीयले तत्काल स्थलगत अनुगमन गरी ढल व्यवस्थापन, वन क्षेत्रको प्रयोग तथा वातावरणीय प्रभावबारे छानबिन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu