Connect with us
Kapilvast Forest

साढे ३ सय बालबालिका सम्पर्कविहिन

२०८३, १५ भाद्र सोमबारमा प्रकाशित

केही बालबालिका टोलाएर बसेका छन् । केही रोइरहेका छन् । कोही खाना खाँदै छन् । कोही खेल्दै । रसुवाको उत्तरगया गाउँपालिकाको शिवालय आधारभूत विद्यालय परिसरमा आइतबार दिउँसो अनलाइनखबरको टोली पुग्दा भोटेकोशी बाढीले पुगेको मानवीय क्षतिको सहजै अनुमान लगाउन सकिन्थ्यो।

बाढीबाट ज्यान जोगाएका अगुवा, नागरिक समाज, शिक्षक लगायतको समूह ती बालबालिकाको व्यवस्थापनमा खटिएका थिए । जहाँ एक सय जति विद्यार्थी बसिरहेका छन् ।

विद्यालयमा कोही आएको चाल पाउनासाथ बालबालिकाहरू झुम्मिन्छन् । सायद उनीहरूलाई हराइरहेका आफ्ना आमा-बुबा आएको आश हुनुपर्छ ।

दिनहरू बित्दैछन् । तर पनि उनीहरूमा आशा हराइसकेको छैन ।

त्यही भिडमा थिइन्, ९ वर्षीया भुजना तामाङ । भुजना कक्षा ३ मा पढ्छिन् । बाढी आउनुअघिसम्म उनी परिवारसँग खेल्ने, रमाउने गरिरहेकी थिइन् ।

तर अहिले उनको बाल्यकालमाथि बाढीको त्रासदी आइपरेको छ । बाढी आएको दिन पनि उनी अरू दिनजस्तै विद्यालयको ड्रेस लगाएर घरबाट निस्किएकी थिइन् ।

विद्यालयको बस उनलाई लिन आउँदै थियो । तर त्यस दिन स्कुल पुग्ने बाटोभन्दा अगाडि नै उनको जीवनको बाटो फेरियो । उनको घर उत्तरगया गाउँपालिका-५ खाल्टेमा पर्छ ।

भुजनाका बुबा नजिकैको हाइड्रोपावरमा काम गर्थे । आमा खेतीपातीको काम गर्थिन् । घरमा पाँच वर्षका भाइ र १६ वर्षकी दिदी पनि थिए । बाढी आएपछि उनीहरू सबै सम्पर्कविहीन छन् ।

भुजनाले बाढी आएको क्षण सम्झँदै सुनाइन्, प्रहरीले ‘खोला बढेको छ’ भन्दै उनलाई माथि जंगलतिर लगेका थिए । ‘मलाई प्रहरीले खोला बढेको छ भनेर माथि जंगलतिर लैजानुभयो,’ उनले त्यो बेलाको क्षण सम्झिँदै सुनाइन् ।

त्यतिबेला उनका आमा, भाइ र दिदी बाटोमा बसेर बाढी आएको हेरिरहेका थिए । त्यसपछि उनीहरूबीच भेट भएको छैन । भुजना अहिले पनि आफ्ना परिवारका सदस्यहरू फर्केर आउने आशामा छिन् ।

वरिपरिका मानिसहरूले उनका बुबा-आमा, भाइ र दिदीलाई बाढीले बगाएको हुन सक्ने आकलन गरिरहेका छन् । तर ९ वर्षकी भुजनाको मनले त्यो स्वीकार गर्न मानेको छैन ।

रुन्चे स्वरमा उनले भनिन्, ‘बाढीपछि कसैसँग भेट भएको छैन । सबैले मेरो बुबा-आमा, भाइ र दिदीलाई बगायो भन्छन् । तर मलाई आउनुहुन्छ जस्तो लाग्छ । सपनामा आउनुभएको देख्छु ।’

उनी अझै पनि आफ्ना बुबा-आमा आउने बाटो हेरिरहेकी छन् । उनलाई बाढीले के गर्‍यो भन्नेभन्दा पनि एउटा प्रश्नले सताइरहेको छ- ‘उहाँहरू कहिले आउनुहुन्छ ?’

भुजनाजस्तै संकट बेहोरिरहेकी छन् १० वर्षीया बालिका अप्सरा तामाङ ।

रसुवाको पैरेवेशीमा बस्ने अप्सरा श्री मालिका देवी विद्यालयमा कक्षा ४ मा पढ्छिन्। बाढी आउनुअघि उनको दैनिकी अरू बालबालिकाको जस्तै थियो।

बिहान उठ्ने, कपाल कोर्ने र स्कुल जाने ।

बुधबार पनि उनी स्कुल जान बाटोमा निस्केकी थिइन् । बाढी आएको थाहा पाएपछि एक जना शिक्षिका (उमा)ले उनलाई बाढीबाट जोगाउन माथितिर लगिन् । अप्सराको ज्यान जोगियो।

तर घरमा रहेका परिवारका सदस्यहरूको अवस्था भने उनलाई थाहा छैन। उनका बुबा सुब्बा तामाङ होइड्रोपावरमा काम गर्थे । बाढीपछि बुबा सम्पर्कविहीन छन् ।

आमा पनि सम्पर्कमा छैनन् । हजुरबुबा र हजुरआमाको पनि अत्तोपत्तो छैन । बुबासँगै काम गर्ने उनका मामा पनि सम्पर्कविहीन छन् ।

अप्सराका १५ महिनाका भाइ पनि बेपत्ता छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu