पोर्चुगलमा नेपालीको संख्या कति ? एनआरएनएले लिस्बोनमा खोल्यो कार्यालय
पोर्चुगल। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको कार्यालय आगामी ४ अक्टोबरदेखि राजधानी लिस्बोनमा सञ्चालनमा आउने भएको छ।
पोर्चुगलको राष्ट्रिय तथ्याङ्क संस्थान (आईएनई) को तथ्याङ्कअनुसार सन् २०२५ मा पोर्चुगलमा नेपाली नागरिकको संख्या ५६ हजार ८ सय ६६ पुगेको छ। यो पोर्चुगलमा रहेका आप्रवासीमध्ये पाँचौँ ठूलो संख्या हो। नेपालीमध्ये ३८ हजार ३ सय ३५ पुरुष र १८ हजार ५ सय ३१ महिला रहेका छन्। पोर्चुगलको नागरिकता लिइसकेका नेपाली भने उक्त तथ्याङ्कमा समावेश नभएको जनाइएको छ।
पोर्चुगलमा नेपालीको संख्या पछिल्ला चार वर्षमा १३६ दशमलव ८ प्रतिशतले वृद्धि भएको तथ्याङ्कले देखाएको छ। सन् २०२१ मा २४ हजार १३ जना नेपाली रहेकोमा सन् २०२५ सम्म आइपुग्दा ५६ हजार ८ सय ६६ पुगेका हुन्। चार वर्षको अवधिमा मात्रै ३२ हजार ८ सय ५३ नेपाली थपिएका छन्।
सन् २०२५ मा पोर्चुगलमा ब्राजिलका ५ लाख ७४ हजार १ सय ९५, एङ्गोलाका १ लाख ३ हजार १ सय ४०, भारतका ९३ हजार ६ सय ८३ र केपभर्डेका ७६ हजार ९९ नागरिकपछि नेपालीको संख्या रहेको छ। त्यसपछि बंगलादेश, गिनी बिसाउ, युक्रेन, साओ टोमे एन्ड प्रिन्सिपे, पाकिस्तानलगायतका नागरिक रहेका छन्।
सन् २०२५ मा पोर्चुगलमा रहेका कुल आप्रवासीको संख्या १५ लाख ९७ हजार ५ सय ३९ रहेकोमा नेपालीको हिस्सा ३ दशमलव ५५ प्रतिशत रहेको छ। सन् २०२१ मा कुल आप्रवासीमध्ये नेपालीको हिस्सा ३ दशमलव २ प्रतिशत थियो।
नेपालीको संख्या बढेसँगै पोर्चुगलमा नेपाली संघसंस्थाको संस्थागत उपस्थिति र नेपाल सरकारको कूटनीतिक सक्रियता पनि विस्तार भएको छ। नेपाल सरकारले २०८० सालमा पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्न पहल गरेको थियो। सोही वर्ष मंसिरमा पोर्चुगलले लिस्बोनमा नेपाली दूतावास खोल्न सहमति दिएको थियो। त्यसपछि २०८१ सालमा लिस्बोनमा नेपाली दूतावास स्थापना भएको थियो। सरकारले प्रकाशमणि पौडेललाई पोर्चुगलका लागि नेपाली राजदूत नियुक्त गरेको थियो।
यसैबीच, पोर्चुगलले पनि नेपालमा आफ्नो कूटनीतिक उपस्थिति विस्तार गर्न प्रक्रिया अघि बढाएको छ। पोर्चुगलले काठमाडौंमा काउन्सिलर कार्यालय स्थापना गर्न नेपाल सरकारसँग सहमति मागेकोमा मन्त्रिपरिषद्ले २०८३ साउन २६ गते काउन्सिलर कार्यालय खोल्न सहमति दिने निर्णय गरेको थियो। त्यसपछि पोर्चुगलले काउन्सिलर कार्यालयभन्दा माथिल्लो तहको महावाणिज्य दूतावास स्थापना गर्न अनुमति मागेको जनाइएको छ।
यही बढ्दो नेपाली जनसंख्यालाई मध्यनजर गर्दै एनआरएनए पोर्चुगलले लिस्बोनमा आफ्नो कार्यालय सञ्चालनमा ल्याउन लागेको हो। संघका अनुसार कार्यालयबाट नेपाली समुदायले प्रत्यक्ष रूपमा आवश्यक सूचना, सेवा, सहयोग तथा परामर्श लिन सक्नेछन्।
कार्यालय अभेनिदा देफेन्सोरेस दे शाभेस नं. ४, १०००–१०९ लिस्बोन मा सञ्चालन हुनेछ। कार्यालय एसआईसीको अगाडि रहेको जनाइएको छ।
एनआरएनए पोर्चुगलले आधिकारिक वेबसाइटसमेत सञ्चालनमा ल्याएको जनाएको छ। वेबसाइटमार्फत नेपाली समुदायले संघका आधिकारिक सूचना, सेवा, सहयोग, कार्यक्रम तथा आवश्यक जानकारी प्राप्त गर्न सक्नेछन्। आफ्ना जिज्ञासा तथा सेवा र सहयोगसम्बन्धी अनुरोधसमेत वेबसाइटमार्फत पठाउन सकिने व्यवस्था गरिएको संघले जनाएको छ।
पोर्चुगलमा नेपाली समुदायको संख्या तीव्र रूपमा बढिरहेको अवस्थामा कार्यालय सञ्चालनले त्यहाँ रहेका नेपालीलाई सेवा तथा सूचनामा सहज पहुँच पुर्याउने संघको अपेक्षा छ। एनआरएनए पोर्चुगलका अध्यक्ष सुजन लामा मोक्तान र सचिव सुरज भण्डारीले कार्यालय तथा वेबसाइटबाट उपलब्ध सेवाको उपयोग गर्न पोर्चुगलमा रहेका सम्पूर्ण नेपाली समुदायलाई आग्रह गरेका छन्।