Connect with us
Kapilvast Forest

शिवराजमा १५ लाखको हाइमास्ट लाइट अलपत्र, ठेकेदार सम्पर्कविहीन; कमिसनको आरोप

२०८३, ८ मंसिर सोमबारमा प्रकाशित

सात महिना बित्दा पनि तीनवटै हाइमास्ट लाइट जडान भएनन्, सामग्री झारेर ठेकेदार बेपत्ता भएको स्थानीयको आरोप ।।

न्युज सेन्टर नेपाल-

कपिलवस्तुको शिवराज नगरपालिकामा १५ लाख रुपैयाँको लागतमा खरिद गरिएका तीनवटा हाइमास्ट लाइट जडान गर्ने काम सात महिनादेखि अलपत्र परेको छ । लाइट जडानको जिम्मा पाएको काठमाडौंस्थित कर्मदा ट्रेड एन्ड सप्लाई कम्पनीले लाइट सामग्री झारेपछि काम अघि नबढाएको र अहिले ठेकेदार सम्पर्कविहीन भएको छन् ।

नगरपालिकाले खरेन्द्रपुर, शिवपुर र उमरी चोकमा हाइमास्ट लाइट जडान गर्ने उद्देश्यले तीनवटा लाइट खरिद तथा जडानका लागि १५ लाख रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

ठेक्का पाएको कम्पनीले केही दिनमै सम्बन्धित स्थानमा लाइटका सामग्रीसमेत झारेको थियो । सामग्री झारेपछि जनप्रतिनिधिहरूले लाइट जडान हुने भन्दै फोटो खिचाएर सामाजिक सञ्जालमा समेत स्ट्यान्डबाजि  गर्दै प्रचार गरेका थिए ।

गत जेठ १० गते शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले खरेन्द्रपुर, शिवपुर र समिती चोकमा हाइमास्ट लाइट जडान गर्ने भन्दै फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गरेका थिए ।

तर फोटो खिचाएर प्रचार गरिएको लामो समय बितिसक्दा पनि लाइट जडान नहुँदा स्थानीयले नगरपालिकाको कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

यस विषयमा स्थानीयले कमिसनको चलखेल भएको आशंकासमेत व्यक्त गरेका छन् । नाम नखुलाउने सर्तमा खरेन्द्रपुरका एक युवाले ठेकेदारले सामग्री झारेपछि कर्मचारी तथा जनप्रतिनिधिलाई कमिसन दिएर सम्पर्कविहीन भएको आरोप लगाए । उनले भने, “ठेकेदारले सामान झार्‍यो, कर्मचारी र जनप्रतिनिधिलाई कमिसन दियो र त्यसपछि सम्पर्कविहीन भयो ।”

यस विषयमा नगरपालिका र सम्बन्धित जनप्रतिनिधिको आधिकारिक धारणा सार्वजनिक भएको छैन ।
हाइमास्ट लाइट जडानको जिम्मा पाएको कम्पनीको सम्पर्क नम्बर ९८५११७०९९२ समेत स्विच अफ रहेको  छ ।

सात महिनासम्म काम सम्पन्न नहुनु र ठेकेदार सम्पर्कमा नआउनुले खरिद प्रक्रिया, भुक्तानी अवस्था तथा नगरपालिकाको अनुगमनमाथि गम्भीर प्रश्न उठाएको छ ।


सार्वजनिक बजेटबाट खरिद गरिएका हाइमास्ट लाइट किन जडान भएनन् ? ठेकेदार कम्पनीलाई भुक्तानी भइसकेको छ वा छैन ? सम्झौताअनुसार काम सम्पन्न नगर्ने कम्पनीमाथि नगरपालिकाले के कारबाही गरेको छ ? यी प्रश्नको जवाफ नगरपालिकाले दिनुपर्ने स्थानीयको माग छ ।