दशौँ राष्ट्रिय खेलकुदः पुरुष क्रिकेटमा कर्णालीलाई हराउदै लुम्बिनी विजयी
कर्णाली । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न पुरुष क्रिकेटमा लुम्बिनी प्रदेशले कर्णाली प्रदेशलाई ६५ रनले पराजित गरेको छ ।
सुर्खेत वीरेन्द्रनगस्थित कालुञ्चोक मैदानमा आज भएको खेलमा १६२ रनको लक्ष्य पछ्याएको कर्णाली १७ दशमलव पाँच ओभरमा समेटियो ।खेलमा टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६१ रन बनाएको थियो । लुम्बिनीका लागि निर्मल गुरुङले सर्वाधिक ३३ रन बनाए । उनले २२ बलमा तीन चौका र दुई छक्का प्रहार गर्दा युवराज शर्माले २८ बलमा २६ रनको योगदान दिए ।
कर्णालीका दिनेश अधिकारी र राजकुमार शाहले समान दुई/दुई विकेट लिए । राजकुमार शाहले अन्तिम ओभरमा दुई विकेट लिए । कर्णालीका दिनेश रावतले सर्वाधिक २५ रन बनाए ।
त्यस्तै, अरबिन्द घर्तीमगरले २३ रनको मात्रै योगदान दिए ।
लुम्बिनीका बलर अजय चौहानले उत्कृष्ट प्रदर्शन गर्दै २१ रन खर्चेर तीन विकेट लिए । निर्मल गुरुङले पनि १८ रन दिँदै दुई विकेट लिए । ब्याटिङ र बलिङ दुवैमा सन्तुलित प्रदर्शन गरेको लुम्बिनीले कर्णालीलाई ६५ रनले पराजित गरेको हो ।