सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुखद्वारा पदभार ग्रहण
धनगढी – सुदूरपश्चिमका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवले पदभार ग्रहण गर्नु भएको छ । बिहीबार राति गृह जिल्ला सप्तरीबाट धनगढी आइपुगेका यादवले शुक्रबार दिउँसो पदभार ग्रहण गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
प्रदेश प्रमुखको कार्यालयका उपसचिव पुष्कर खड्काले यादवले शुक्रबार दिउँसो कार्यालयमा पुगेर पदभार ग्रहण गरेको जानकारी दिनु भयो । पदभार ग्रहण गर्दै उहाँले नेपालको प्रचलित कानून र संविधान बमोजिम काम गर्ने प्रतिबद्ध रहेको बताउनु भएको छ ।
पदभार ग्रहण कार्यक्रममा प्रदेश प्रमुखको कार्यालयका सचिव ओमबहादुर खड्का लगायतका कर्मचारी सहभागी हुनुभएको थियो । खड्काले मुख्यमन्त्री त्रिलोचन भट्टलाई मातृशोक परेका कारण डोटीमा रहेकाले प्रदेश सरकारका पदाधिकारी पदभार कार्यक्रममा सहभागी हुन नसकेको बताउनु भयो ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २० गते तत्कालिन प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तलाई हटाएर यादवलाई प्रदेश प्रमुखमा नियुक्त गर्नु भएको थियो ।