Connect with us
Kapilvast Forest

केही समय पानी वितरण अवरुद्ध हुने

२०७८, २१ जेष्ठ शुक्रबारमा प्रकाशित

 

काठमाडौँ- काठमाडौँ उपत्यकामा असारदेखि केही समयका लागि मेलम्चीको पानी वितरण अवरुद्ध हुने भएको छ । आयोजनाको कार्यविधि (प्रोटोकल)अनुसार सुरुङको परीक्षण गर्नुपर्ने भएकाले केही समयका लागि काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण अवरुद्ध हुने मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका निर्देशक कमल श्रेष्ठले करिब तीन महिना पानी वितरण भइसकेपछि सुरुङको भित्री र बाहिरी अवस्था कस्तो छ, कहीँ फुटेको, भत्केको वा चर्केको छ/छैन भन्ने थाहा पाउन तथा मर्मतसम्भार गर्न असारदेखि केही समयका लागि पानी वितरण अवरुद्ध हुने जानकारी दिनुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चैत १५ गते काठमाडौँमा मेलम्चीको पानी वितरणको शुभारम्भ गर्नुभएको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २२ गते फ्लसिङ टनेलको हाइड्रो मेकानिकल गेटको बटन थिचेर सुन्दरीजलमा जल प्रवाहको शुभारम्भ गर्नुभएको थियो ।
निर्देशक श्रेष्ठले भन्नुभयो, “निर्माण कम्पनीसँगको सम्झौताअनुसारको कार्यतालिकाभित्रकै यो काम हो । यो काम पहिला नै गर्नु पर्दथ्यो तर काठमाडौँवासीको लामो समयदेखिको व्यग्र पर्खाइ तथा सुक्खा याममा उपत्यकामा पानीको सहजताका लागि तीन महिना पानी वितरण गरेर सुरुङको निरीक्षण तथा मर्मत गर्न लागिएको हो ।” सुरुङको कुल लम्बाइ २७ किलोमिटर छ ।

कार्यतालिकाअनुसार सुरुङमा भरिएको पानी ग्याल्थुम, अम्बाथान, सिन्धु र सुन्दरीजलका चारवटा फ्लसिङ टनेलबाट बाहिर निकाली त्यसपछि सुरुङ पूरै खाली गरेर समस्या भए÷नभएको अध्ययन गरिने निर्देशक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माण कम्पनीसँग भएको सम्झौताको कार्यविधिमा नै आयोजनाको अन्तिम सुरुङमा पानी पठाएर खाली गरी निरीक्षण गर्ने, क्षति भएको अवस्थामा मर्मत सम्भार गर्ने र त्यसपछि कुनै समस्या नभएमा पुनः पानी भरी वितरण गरेपछि मात्र आयोजना सफल हुन्छ ।’’

दुई वर्षअघि चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग गरिएको ठेक्का सम्झौतामा सुरुङमा पानी भरेर पुनः खाली गराएर निरीक्षण गर्ने र क्षति भएको खण्डमा पुनः मर्मतसम्भार गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी निर्माण कम्पनीले गरेको काम ठीक छ/छैन यकीन गर्नसमेत सुरुङको निरीक्षण गर्न लागिएको बताउँदै निर्देशक श्रेष्ठले अहिले निरीक्षण र मर्मतसम्भार गरिए भने निर्माण कम्पनीको सम्झौता अवधि समाप्त भएपछि आयोजनाले आफ्नै लगानीमा गर्नुपर्ने भएकाले अहिले नै सो काम गर्न लागिएको स्पष्ट पार्नुभयो ।

“निरीक्षणको क्रममा सुरुङभित्र कुनै क्षति भएको छैन भने १५ दिनभित्र नै सुरुङमा पुनः पानी रिफिल गरी वितरण प्रणालीलाई सुचारु गर्छांै” निर्देशक श्रेष्ठले सुरुङको अवस्था कस्तो छ सोको आधारमा पुनः वितरण प्रक्रिया कहिलेबाट सुरु हुने भन्ने कुरा यकिन हुने स्पष्ट पार्नुभयो । तीन महिनासम्म पानी बग्दा सुरुङभित्र कुन हदसम्म क्षति पुगेको छ सोको आधारमा मात्र पुनः पानी वितरणको समय तय हुन सक्ने उहाँले स्पष्ट पार्नुभयो ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu