राजीनामा फिर्ता लिन भीम रावललाई दबाब
धनगढी – नेकपा एमाले सुदूरपश्चिम ९माधव समूह०का प्रदेशसभा सदस्यले नेता भीम रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । संघीय राजधानी काठमाडौं पुगेर प्रदेश सरकारका चार मन्त्री र १० जना प्रदेशसभा सदस्यले रावललाई सांसद पदबाट दिएको राजीनामा फिर्ता गर्न आग्रह गरेका हुन् ।
रावलकै निवासमा पुगेर भेटेका उनीहरुले निर्णयमा पुनर्विचार नगरेमा आफूहरुले पनि प्रदेशसभा सदस्यको पदबाट राजीनामा दिने चेतावनी दिएका छन् ।
धनगढीमै हुँदा हामीले अनौपचारिक बैठक बसेर हामी १७ जना सांसदहरुले रावल कमरेडलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गर्ने निर्णय गरेका थियौं,’ प्रदेशसभा सदस्य हर्कबहादुर कुँवरले भन्नुभयो , ‘मंगलबार काठमाडौं पुगेर भेट्दै उहाँसँग कुरा राख्यौं । तपाईं सुदूरपश्चिमबासी मात्र नभएर राष्ट्रकै नेता हो । यो निर्णयमा पुनर्विचार गर्नुस् होइन भने हामी पनि राजीनामा दिन्छौं भनेर भन्यौं ।’
जवाफमा रावलले आफूहरुले दिएको सुझावलाई ग्रहण गर्दै आवश्यक निर्णय लिने आश्वासन दिएको कुँवरले बताउनुभयो । उहाँले आफू पार्टी एकताका लागि गठित कार्यदलको संयोजक र सर्वोच्च अदालतमा हस्ताक्षर गरेकाले पनि नैतिकताका आधारमा सांसद पदबाट राजीनामा दिएको समेत उनीहरुसँग बताएका थिए ।
रावलले वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अडान राखेपछि २९ असारमा सभामुख अग्निप्रसाद सापकोटासमक्ष सांसद पदबाट राजीनामा दिएका थिए । तर सभामुखले उनको राजीनामा स्वीकृत गरेका छैनन् । रावललाई पार्टीभित्रबाट समेत राजीनामा फिर्ता लिन दबाब छ ।