महन्थ ठाकुर पक्ष आन्तरिक छलफलमा, सरकारमा सहभागी नहुने
काठमाडौं-जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षले आगामी रणनीतिबारे छलफल सुरू गरेको छ ।सोमवार निर्वाचन आयोगले जसपाको उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएपछि उत्पन्न परिस्थितिबारे ठाकुर पक्षका संघीय संसद र प्रदेश सभाका काठमाडौंमा उपलब्ध सांसदहरूले मंगलवारबाट छलफल सुरू भएको छ ।
निर्वाचन आयोगले पार्टीको आधिकारिकताका सम्बन्धमा फैसला गरेपछि त्यसको अध्ययन गरी कसरी अघि बढ्ने भन्ने विषयमा आफूहरूबीच छलफल सुरू भएको नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । ‘निर्वाचन आयोगको फैसला आयो, पार्टीको आधिकारिकताका सम्बन्धमा । आयोगका फैसलाका नक्कलहरू प्राप्त भएका छन् । त्यसलाई अध्ययन गरेर कसरी अघि बढ्ने भन्ने विषयमा छलफल सुरू गरिएको छ,’ उहाँले भन्नुभयो ।
ठाकुर पक्षले शेरबहादुर देउवा नेतृत्वको सरकारले भने नजाने स्पष्ट पारेको छ । ‘सरकारलाई समर्थन गरियो तर सहभागी हुँदैनौँ । अहिले पनि विपक्षमा बस्छौँ,’ उहाँले भन्नुभयो ।
ठाकुर पक्षले निर्वाचन आयोगले आफ्नो पार्टी फुटाइदिएको आरोप लगाउँदै आएको छ ।सोमवार ५१ जना केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरूमध्ये ३४ जनाको समर्थन रहेपछि निर्वाचन आयोगले उपेन्द्र यादव पक्षलाई पार्टीको आधिकारिकता दिएको छ ।