१६ हजार खोप केन्द्र विस्तार गर्ने सरकारको तयारी
काठमाडौं – सरकारले कोभिड–१९ विरुद्धको खोप लगाउने केन्द्र विस्तार गरी १६ हजार पु-याउने तयारी गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सामाजिक सञ्जाल ट्वीटरमार्फत खोप केन्द्र १६ हजार पु-याउने सरकारको योजना रहेको बताउनुभएको हो ।
खोप केन्द्र अव्यवस्थित बनेको भन्दै जनगुनासो बढेपछि स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले सोमबार काठमाडौंस्थित शिक्षण अस्पताल, चपलीहाइट लगायतका खोप केन्द्रको अनुगमन गर्नुभएको हो ।स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले खोपको आपूर्ति बढाएर आगामी चैत मसान्तभत्रि सम्पूर्ण नागरिकलाई खोप लगाइसक्ने प्रतिबद्धता दोहो-याउनुभएको छ ।
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले अहिले ४ हजार ४ सय २२ खोप केन्द्र रहेकोमा खोपको आपूर्ति बढाएर १६ हजार खोप केन्द्रबाट कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने योजना रहेको ट्वीटमा उल्लेख गर्नुभएको छ ।सरकारले खोप वितरणमा ध्यान नदिएको भन्दै चिकित्सक र जनस्वास्थ्य विदहरुले सरकारलाई बारम्बार आग्रह गर्दै आएको छ ।