बाढीले बगाएर एकैघरका तीनजनाको मृत्यु
काठमाडौं – अविरल वर्षाका कारण खोलामा आएको बाढीले बगाउँदा जुम्ला ताम्ती गाउँका एक बालकसहित एकै घरका तीन जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा तातोपानी गाउँपालिका–७ ताम्ती जुम्लाका १० वर्षीय बालक सन्देश रावत, आमा ३५ वर्षीय जैसरा रावत र उहाँका जेठाजु ६० वर्षीय बिर्खे रावत रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिनु भयो ।
सोही वडाको पाटनमा सेतक चिनी जडिबुटी कोरेर घर फर्कने क्रममा बिहीबार बेलुका दुनेखोलामा आएको बाढीले बगाएर उनीहरूको मृत्यु भएको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।
उनका अनुसार फोन सम्पर्क नहुँदा घटनाको खबर ढिला आएको र ताम्ती पाटन पुग्न सदरमुकाम जुम्लाबाट करिब ४० किलोमिटर टाढा भएकाले प्रहरीलाई स्थलगत मुचुल्का बनाउन ढिला भएको हो।
आफन्त र स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का बनाएर प्रहरी फर्किसकेको छ। दुई साता अघि जुम्ला पातारासी गाउँपालिकाको छुमचौर निवासी एक अपाङ्गता भएका महिला पानीघट्ट गएको बेला छुमचौर खोलामा आएको बाढीले बगाउँदा ज्यान गएको थियो।