Connect with us
Kapilvast Forest

टीकापुर घटनाको ६ वर्ष पूरा

२०७८, ७ भाद्र सोमबारमा प्रकाशित

धनगढी -थरुहट/थारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा कैलालीको टीकापुरमा भएको घटनाको ६ वर्ष पूरा भएको छ ।६ वर्षअघि २०७२ साल भदौ ७ गते आजकै दिन भएको आन्दोलनमा प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी लक्ष्मण न्यौपाने सहितका ७ जना प्रहरी र एक नाबालकको ज्यान गएको थियो ।उक्त घटनामा मुख्य दोषी ठहर भएका रेशम चौधरीले आजीवन कैदको सजाय भोगिरहेका छन् ।थरुहट/थारुवान संयुक्त मोर्चाले ‘कालो दिन’ मनाउने

टीकापुर घटना भएको ६ वर्षपछि पनि थरुहट/थारुवान संयुक्त मोर्चा अधिकार प्राप्तीका लागि भन्दै शान्तिपूर्ण आन्दोलनमै छ ।थरुहट/थारुवान संयुक्त मोर्चा कैलालीका संयोजक माधव चौधरीले घटना भएको ६ वर्ष पुगेको अवसरमा सोमबार लम्कीमा शान्तिपूर्ण प्रदर्शन र मंगलबार ‘कालो दिन’का रुपमा मनाउने कार्यक्रम रहेको बताए । उनले थारु समुदायको अधिकार र रेशम चौधरीको रिहाइका लागि मोर्चा शान्तिपूर्ण आन्दोलनमा रहेको जनाए ।

करिब साढे ३ वर्षपछि टीकापुर घटना सम्बन्धी मुद्दामा कैलाली जिल्ला अदालतले प्रतिनिधिसभा क्षेत्र नम्वर १ बाट विजयी सांसद चौधरी सहितका ११ जनालाई जन्मकैदको फैसला सुनाएको थियो ।

रेशम चौधरी सहित हरीनारायण चौधरी, राजकुमार कठरीया, सुन्दरलाल कठरिया, बृजमोहन डगौरा, राजेश चौधरी, विरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गंगाराम चौधरीलाई जन्म कैद हुने फैसला गरेको थियो । श्रवण चौधरी नाबालक भएकाले आधा अर्थात १० बर्ष सजाय तोकिएको थियो ।

यस्तै लक्ष्मण थारु, लाहुराम चौधरीलगायतका १२ जनालाई ३ वर्ष कैद तोकिएकोमा उनीहरु कैद भुक्तान गरेर छुटेका थिए । तर जिल्ला अदालतको फैसला बदर गर्न माग गर्दै उच्च अदालत दिपयालमा पुनरावेदन गरेपछि रिहा भइसकेका लक्ष्मण थारुलाई पनि जन्म कैद हुुने फैसला सुनाइएको थियो । अहिले उनी फरार छन् ।

६ महिना कैद सजाय तोकिएका करन चौधरी पनि रिहा भएका छन् भने नुरुल अलि जागा भनिने तहाँवर अलिजागा, बिसराम चौधरी र रामनरेश चौधरीले सफाइ पाएका थिए । हालसम्म पनि फरार रहेका ३१ जनाको मुद्दा अदालतले मुलतवीमा राखेको छ ।अदालतले थारु समुदायमाथि अन्याय गरेको भन्दै रेशम चौधरीसहितका कैदीबन्दी रिहाइ गर्नुपर्ने माग थरुहट थारुवान मोर्चाले राख्दै आएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu