सांस्कृतिक पर्व एकताको प्रतीक : राष्ट्रपति
काठमाडौँ -राष्ट्रपति विद्यादेवी भण्डारीले हाम्रा सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकतालाई मजबुत बनाउने बताउनुभएको छ । कष्ण जन्माष्टमी पर्व तथा सुदूरपश्चिममा मनाइने गौरा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै उहाँले सांस्कृतिक पर्व एकताको प्रतीक भएको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले दुवै पर्वका अवसरमा शुभकामना सन्देश दिँदै विश्वभर हिन्दू धर्मावलम्बीहरूले भक्तियोग, ज्ञानयोग र कर्मयोगका प्रणेता श्रीकृष्णको पूजा–अर्चना गरी श्रद्धा भक्तिपूर्वक यो पर्व मनाउने गरेको स्मरण गर्नुभएको छ । द्वापर युगमा दुर्जनको विनाश र सज्जनको रक्षा गर्नका लागि वासुदेव र देवकीको आठौँ सन्तानका रूपमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ ।
‘यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउनेछ,’ सन्देशमा उल्लेख छ । राष्ट्रपतिले श्रीकृष्ण जन्माष्टमी पर्वले सम्पूर्ण नेपालीमा आपसी सद्भाव र मैत्री भावना अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामनासमेत व्यक्त गर्नुभएको छ ।