सुदूरपश्चिममा नेकपा (एस) सबैभन्दा ठूलो दल
धनगढी — सोमबार थप एक जना प्रदेश सांसदले नेकपा एमाले छाडेसँगै सुदूरपश्चिम प्रदेशसभामा नेकपा(एस) सबैभन्दा ठूलो दल भएको छ । सोमबार सांसद माया तामाङ बोहराले नेकपा (एस) मा सनाखत गर्नु भएको हो ।
तामाङ यसअघि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली समूहमा हुनुन्थ्यो । उहाँले सनाखत गरेसँगै १४ जना प्रदेश सांसद भएको नेकपा (एस) सबैभन्दा ठूलो दल भएको छ । नेकपा एमाले पहिलो दलबाट चौथोमा पुगेको छ ।
एमालेमा कूल २४ जना (सभामुख बाहेक) सांसद रहेकोमा १४ सांसदले नेकपा (एकीकृत समाजवादी) रोज्नु भएको छ । एमालेमा रहने सांसदको संख्या १० जना मात्रै भएको छ । सभामुख तटस्थ भूमिकामा रहनु भएको छ ।
सभामुखसहित ५२ जना रहेको सुदूरपश्चिम प्रदेशसभामा अब नेकपा (एस) मा १४, नेकपा माओवादी केन्द्र १३, नेपाली कांग्रेस १२, नेकपा एमाले १० र जसपा २ जना सांसद रहनु भएको छ ।
भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला मन्त्री पूर्णा जोशी र सामाजिक विकास मन्त्री लालबहादुर खड्का, राज्यमन्त्रीहरु चुनकुमारी चौधरी र मनाकुमारी साउँद, प्रमुख सचेतक दुर्गाकुमारी कामी, पूर्व मन्त्री माया भट्ट, पूर्वराज्यमन्त्री प्रकाश रावल र पूर्व प्रमुख सचेतक तारा लामा तामाङ, सांसदहरु सुशीला बुढाथोकी, कुलबीर चौधरी, अमर साउँद र बलबहादुर सोडारी र माया तामाङ बोहराले नेकपा (एस) रोज्नु भएको छ ।