स्वास्थ्य सामग्रीसहित हुर्फान टोली झाडापखाला प्रभावित स्थानमा
कपिलवस्तु-राष्ट्रिय मानव अधिकार प्रतिष्ठान (हुर्फान) कपिलवस्तुको टोली स्वास्थ्य सामग्रीसहित झाडापखाला प्रभावित स्थानमा पुगेको छ । प्रतिष्ठानका जिल्ला अध्यक्ष विष्णु प्रसाद खतिवडा नेतृत्वको टोली कृष्णनगर नगरपालिका ९, बहादुरगञ्जस्थित नेपालकै दोस्रो पुरानो शिवराज अस्पतालको अनुगमन गरेको हो ।
विगत पाँच दिनदेखि त्यस क्षेत्रमा झाडापखाला फैलिएर अस्पतालमा उपचाररत विरामीहरुको अवस्थाबारे बुझ्न हुर्फान कपिलवस्तुको टोली त्यहाँको स्थलगत अनुगमन गरेको हो । त्यहाँ पुगेको हुर्फान टोलीले कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह र अस्पतालका प्रमुख डा. मुकेश कुमार चौधरीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
टोलीले १८ पेटी पानी, ५सय १० पाकेट जीवनजल र ३सय पिस माक्स हस्तान्तरण गरेको हुर्फान अध्यक्ष विष्णुप्रसाद खतिवडाले जानकारी दिनु भयो । अस्पतालको अनुगमन गर्दै हुर्फान कपिलवस्तु अध्यक्ष खतिवडाले विरामीहरुको ज्यान बचाउन स्वास्थ्यकर्मीले खेलेको भुमिकाको प्रशंसा गर्नु भयो । साथै खानपान र स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन समेत आग्रह गर्नु भयो । टोलीसँगै हुर्फान केन्द्रिय परिसद सदस्य भूमिराज भट्टराई, जिल्ला सहसचिव भक्ति पौडेल, सक्रिय सदस्य लेखनाथ घर्ती, अनिता आचार्य भुसाल, अकोराब लुम्बिनी प्रदेश सदस्य एवं रेडियो भ्वाइसका अध्यक्ष शरद अधिकारीको सहभागिता रहेको थियो ।

यता अस्पतालका डा. मुकेश कुमार चौधरीले अहिले झाडापखालाका प्रभाव न्यून हुँदै गएको जानकारी दिए । दुई तीन दिनसम्म उपचारमा निकै समस्या झेल्नुपरेको सुनाउँदै अहिले निको हुनेको संख्यामा वृद्धि भएको बताउनु भयो ।

डा. चौधरीका अनुसार ४सय ६१ जना विरामी भएकोमा ३सय ६६ जना निको भई घर फर्किसकेका छन् । उपचाररत बिरामीमध्ये ३७ जना रेफर भएका छन् भने ८जना जटिल, ४० जना मध्यम र १० जना सामान्य रहेका छन् । “आज मात्र ३१ जना थप बिरामी भर्ना भएका छन्” –डा. चौधरीले भन्नु भयो । पानीमा मलमुत्रमा पाइने किटाणु फैलिएका कारण झाडापखाला फैलिएको डा. चौधरीको भनाई छ ।
यस्तो महामारीको बेला हुर्फानले गरेको सानो सहयोगप्रति कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले धन्यबाद ज्ञापन गर्नु भएको थियो । मानवीय सेवामा हुर्फानले गरेको सानो सहयोग बिरामीका लागि अमूल्य रहेको नगरप्रमुख शाहले बताउनु भयो । अहिले प्रकोपमा निकै कमी आएको बताउँदै नगरप्रमुख शाहले यसलाई नियन्त्रणमा ल्याउन हरेक क्षेत्रबाट भएको सहयोग अतुलनीय रहेको भन्दै सहयोगी मनहरुप्रति आभारी रहेको बताउनु भयो ।