Connect with us
Kapilvast Forest

नेपालमा विद्युतीय सवारी कारखाना खोल्न चीन इच्छुक

२०७८, २८ कार्तिक आईतवारमा प्रकाशित

एजेन्सी — चीनले नेपालमा विद्युतीय सवारी उत्पादन कारखाना खोल्न चासो देखाएको छ । पहिला अल्पकालीन योजनाअनुरूप चिनियाँ विद्युतीय सवारी नेपालमा निर्यात गरेर परीक्षण गर्ने र सफल भएपछि दीर्घकालीन रूपमा अघि बढ्न चाहेको क्वाङ्सी स्वायत्त प्रान्तस्थित अधिकारी र इलेक्ट्रोनिक कम्पनीहरूले बताए ।

‘पहिला नेपाली बजार परीक्षण गरी हेर्छौं । दीर्घकालीन योजनाका रूपमा नेपालमै विद्युतीय सवारी साधन उत्पादन कम्पनी खोल्ने चाहना छ,’ उनीहरूले भने ।

 

क्वाङ्सीका प्रान्तीय वैदेशिक मामिला कार्यालयका महानिर्देशकको निमन्त्रणामा क्वाङ्चौस्थित नेपाली महावाणिज्यदूतावासको प्रतिनिधिमण्डलले शुक्रबार निकटवर्ती क्वाङ्सीको आर्थिक तथा सांस्कृतिक भ्रमण गरेको थियो । नेपाली टोलीसँगको भेटमा क्वाङ्सी वैदेशिक मामिला कार्यालय नाननिङ, छतुका महानिर्देशक श तोङ लोङ, ल्युचौ नगरपालिका सरकारका उपमेयर ल्यु फुयुनहोङसहित चिनियाँ अटोमोबाइल उद्योगका प्रतिनिधि सहभागी थिए ।

चिनियाँ अधिकारीहरूले नवीन ऊर्जा प्रवर्द्धनका लागि नयाँ नीति जारी गरिएको सुनाउँदै विद्युतीय सवारी साधनलाई विदेश निर्यात गर्न चीन आतुर रहेको बताए । ‘हाल नवीन ऊर्जावाहन नीति, उद्योग स्थापना तथा अनुसन्धान, बिक्री, निर्यात, चार्जिङ स्टेसनलगायत नयाँ नीति जारी गरिएको छ । यसले सम्भावनाका अनेक ढोका खोलेको छ,’ उनीहरुले भने । चीनस्थित नेपाली व्यापारीहरूसमेत संलग्न भ्रमण टोलीले क्वाङ्सीस्थित अटोमोबाइल ग्रुप, साइक–जीएम–वुलिङ अटोमोबाइल्स को लिमिटेडलगायतमा पनि भ्रमण गरेको थियो । नेपालमा पर्याप्त विद्युतीय संसाधन रहेकाले इलेक्ट्रिक भेहिकलको विकास गर्ने योजना रहेको महावाणिज्यदूत हरिशरण पुडासैनीले सुनाए ।

हालै नेपाल सरकारले बजेटमार्फत विद्युतीय सवारी साधन उत्पादन एवम् एसेम्बलिङ गर्ने विश्वका उत्कृष्ट ब्रान्डका कम्पनीलाई उद्योग स्थापना गर्न आकर्षित गर्ने, सवारीसाधनमा प्रयोग हुने विभिन्न प्रकारका सहायक सामग्री उत्पादन स्वदेशमै गरी रोजगारी सिर्जना गर्ने तथा त्यस्ता कम्पनीलाई कर सहुलियतका साथै जग्गासमेत नि:शुल्क लिजमा उपलब्ध गराउने घोषणा गरेको छ ।

 

क्वाङ्सी स्वायत्त क्षेत्रस्थित औद्योगिक क्षेत्रहरूको भ्रमण गरेपछि ल्युचौ नगर सरकारसँगको आर्थिक कूटनीतिक भेटघाटमा नेपालमा विद्युतीय सवारी उत्पादन कम्पनी स्थापनाका सम्बन्धमा छलफल भएको कन्सुलेट कुञ्जन शाहले कान्तिपुरलाई बताए । ‘सवारी साधन उत्पादकका तर्फबाट नेपालमा लगानी गर्न केकस्तो वातावरण छ, लगानी नीति र ध्यान दिनुपर्छ भन्नेबारे चासो राखिएको छ,’ शाहले भने ।

चीनको बेल्ट एन्ड रोड परियोजनाले धेरै अवसर ल्याएको र हालसम्म नेपालमा कुनै विद्युतीय सवारी कारखाना नभएको महावाणिज्यदूत पुडासैनीले जानकारी दिए । नेपालमा पेट्रोलियम सवारी साधनको तुलनामा विद्युतीय सवारी निकै कम रहेको अन्तर्राष्ट्रिय नेपाली युवा महासंघ (फिने), चीनका अध्यक्ष दिलबहादुर कठायतले बताए । त्यसैले विद्युतीय सवारी खपतका लागि नेपाली बजार राम्रो हुने उनको भनाइ छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu