कपिलवस्तु -नेकपा एमालेको नजिकिदो १० औँ राष्टिय महाधिवेशनमा कपिलवस्तु जिल्लाबाट १५ हजार कार्यक्रता चितवनमा उतार्ने तयारी गरिएको एमाले प्रदेश कमिटीले जनाएको छ ।
दसौं राष्ट्रिय महाधिवेशनको उद्घाटन कार्यक्रममा पाँच लाख कार्यकर्ता उतार्ने बताएको नेकपा एमालेले लुम्बिनी प्रदेशबाट मात्रै ७५ हजार कार्यकर्ता लैजाने गरी तयारी गरेको छ । यही मंसिर १० देखि १२ गतेसम्म एमालेले चितवनमा आफ्नो दसौं महाधिवेशन गर्दैछ । सोही क्रममा लुम्बिनी प्रदेशमा पनि महाधिवेशनको लागि प्रतिनिधि छनोट गरिसकेको एमालेले उद्घाटन कार्यक्रममा ७५ हजार कार्यकर्ता उतार्ने गरी तयारी गरेको जनाएको छ ।
शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष लिला गिरीले रूपन्देहीबाट मात्र २२ हजार र सिंगो लुम्बिनी प्रदेशबाट ७५ हजार कार्यकर्ता चितवन लैजाने दाबी गरेका हुन्।
गिरीले कपिलवस्तु र नवलपरासी पश्चिमबाट १५र१५ हजार र बाँकी जिल्लाबाट १ हजारदेखि ८ हजारसम्म कार्यकर्ता लैजाने गरी तयारी भइरहेको जानकारी दिए।महाधिवेशनको प्रचारप्रसार स्वरूप एक जिल्ला एक गेट बनाउने केन्द्रीय निर्देशन भए पनि बुटवलमा भने थप गेट निर्माण गरिने उनले बताए।महाधिवेशन बुटवलमा नै हो कि भन्ने किसिमले पार्टीका नेतारकार्यकर्ता प्रचारप्रसार र गेट निर्माणमा लागेको उनले बताए।
महाधिवेशन प्रचार–प्रसार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जि।सी।ले ‘दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं,’ भन्ने मूल नारासहित १० औं महाधिवेशनको तयारी तीव्र रूपमा अगाडि बढेको बताए।
एमाले प्रचार–प्रसार विभाग केन्द्रीय सदस्य डि आर घिमिरेले रूपन्देहीमै चितवन महाधिवेशनको झल्को दिनेगरी तयारी रहेको बताए। उनले बुटवलका विभिन्न स्थलमा डिजिटल बोर्डको व्यवस्थापन तथा आकर्षक गेट निर्माण गरिने बताए।