आजदेखि बाघ गणना सुरु हुँदै, वनमन्त्रीले उद्घाटन गर्ने
काठमाडौं-आजदेखि देशभर राष्ट्रिय बाघ गणना सुरु हुँदै छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणना गर्न लागेको हो । बाघको गणनाका लागि पाँच वटा राष्ट्रिय निकुञ्ज र निकुञ्ज बाहिरका क्षेत्रलाई समेत समेटेर तीन वटा कम्प्लेक्स बनाइएको छ ।
चितवन–पर्सा कम्प्लेक्सबाट बाघको गणना सुरु हुन लागेको हो । नवलपरासीको त्रिवेणीदेखि रौतहटको बागमतीसम्मको वन क्षेत्र, बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्र र शुक्लाफाँटा गरी अरू तीन कम्प्लेक्समा छुट्याइएको छ ।
वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टर सौराहाबाट आज साढे १० बजे राष्ट्रिय बाघ गणनाको उद्घाटन गर्दै छन् । रुखमा क्यामरा जडान गरेर मन्त्रीले उद्घाटन गनुहुने छ । बाघ गणनाका लागि देशभर छ सय क्यामरा प्रयोग गरिने छ ।
बाघ गणना उद्घाटनका लागि वनमन्त्री यादवसहित राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका डा। रामचन्द्र कँडेललगायतको टिम शनिबार नै चितवन आइपुगेको थियो । क्यामरा ट्रयापिङ र अकुपेन्सी सर्भे विधिमार्फत बाघ गणना गरिने कँडेलले बताउनु भएको छ ।