Connect with us
Kapilvast Forest

कपिलवस्तुको चन्द्रौटासहित देशभर ५२ वटा चार्जिङ स्टेसन बन्ने

२०७८, २० मंसिर सोमबारमा प्रकाशित

काठमाण्डौं -नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको चन्द्रौटासहित देशका विभिन्न स्थानमा ५२ वटा चार्जिङ स्टेसन निर्माण प्रक्रिया अगाडि बढेको बताएको छ।आगामी वैशाखसम्ममा निर्माण प्रक्रिया सक्काउने गरी काम भइरहेको नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशकुमार भट्टराईले जानकारी दिनु भयो ।

‘काम भइरहेको छ। अबको पाँच महिना भित्रमा निर्माण सकिन्छ,’ उहाँले भन्नु भयो ।चार्जिङ स्टेसन बनाउन प्राधिकरण र चिनियाँ कम्पनी वानबाङ डिजिटल एनर्जीबीच गत चैतमा सम्झौता भएको थियो। एक वर्षभित्रमा सबै काम टुंग्याउने गरी सम्झौता भएको हो।

प्राधिकरणका अनुसार देशका विभिन्न ३३ स्थानमा ती ५२ स्टेसन बन्नेछन्।कन्चनपुरस्थित महेन्द्रनगर बसपार्कमा दुइवटा चार्जिङ स्टेसन बन्ने छन्। त्यस्तै कैलालीको अत्तरिया एनइए कार्यालयमा एक तथा लम्की बसपार्कमा एक स्टेसन बन्ने प्राधिकरणले जानकारी दिएको छ।बाँकेको कोहलपुरमा एक, सुर्खेत बसपार्कमा दुई, दाङमा तमही रिफ्रेस सेन्टर दुई र घोराहीमा एक बन्नेछन्।

चन्द्रौटा कपिलवस्तुमा दुई, सैनामैना रुपन्देहीमा एक, बुटवल बसपार्क रुपन्देहीमा दुई, नवलपरासी बर्दघाटमा दुई, पोखरास्थित टुरिस्ट बसपार्कमा दुई र लेकसाइडमा एक स्टेसन बन्ने प्राधिकरणले बताएको छ।

चितवनमा पाँच वटा चार्जिङ स्टेसन बन्ने छन्। जसमा पारस बसपार्कमा दुई, भरतपुरमा एक, र मुग्लिन पुल छेउ दुई वटा राखिनेछ। मकवानपुरस्थित हेटौडा बसपार्कमा दुईवटा स्टेसन रहनेछन्।

त्यस्तै काठमाडौं उपत्यकामा ६ वटा चार्जिङ स्टेसन रहनेछन्। जसमा नयाँ बसपार्कमा एक, एयरपोर्टमा दुई, केन्द्रीय कार्यालय एनइएमा दुई र बल्खुमा एक रहनेछन्।नेपास्थित साझा सेवा एक र धुलिखेल बसपार्कमा एक स्टेसन रहने प्राधिकरणले बताएको छ।

सिन्धुलीस्थित खुर्कोटमा दुई वटा स्टेसन रहनेछन्। महोत्तरी बर्दिबासस्थित एक स्टेसन बन्नेछ। हरिवन सर्लाहीमा एक स्टेसन रहनेछ।बारा निजगढ र लाहान बसपार्कमा दुई÷दुई वटा स्टेसन रहनेछन्।उदयपुरस्थित बेलकामा पनि दुई वटा स्टेसन रहनेछन्। सुनसरीस्थित इटहरिमा एक चार्जिङ स्टेसन बनाइनेछ।

मोरङस्थित विराटनगरमा दुई स्टेसन रहनेछन्।त्यस्तै झापामा दमक बसपार्कमा दुई र विर्तामोडमा एक गरी तीन स्टेसन रहनेछन्।

प्राधिकरणले देशका मुख्य तथा व्यस्त सडकलाई प्राथमिकतामा राखेको बताएको छ।फराकिलो क्षेत्र र चार्जिङ अवधि भरी सवारी होल्ड गर्न मिल्ने स्थान अध्ययन गरेर तोकिएको प्राधिकरणका प्रवक्ता भट्टराई बताउँछन्। चार्जिङ स्टेसनमा सवारी चार्ज गर्दा शुल्क भने विद्युत महसुल संकलन विनियमावली–२०७७ अनुसार तिनुपर्ने छ।

विनियमावलीमा व्यवस्था भएअनुसार चार्जिङ शुल्क समयअनुसार छुट्टाछुट्टै निर्धारण गरिएको छ।कुनै सवारी साधन साँझ ५ बजेदेखि राती ११ बजेसम्म, पिक समयमा चार्ज गर्ने हो भने प्रतिघन्टा सात रूपैयाँ शुल्क तिर्नुपर्छ।पिक अफ समय, रातीको ११ बजेदेखि बिहानको ५ बजेसम्म प्रतिघन्टा ती रूपैयाँ ७० पैसा शुल्क तोकिएको छ।अन्य समय बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म प्रतिघन्टा पाँच रुपैयाँ ५० पैसा शुल्क तिर्नुपर्ने व्यवस्था विनियमावलीमा छ।

कुन सवारी चार्ज गर्न लाग्ने समय भने सवारीको ब्याट्री क्षमता हेरेर सोहीअनुसार हुने प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार एउटा चार्जिङ स्टेसनको विद्युतीय क्षमता १४२ किलोवाट हुनेछ। एउटा स्टेसनबाट एक पटकमा तीन वटासम्म सवारी चार्ज गर्न मिल्ने उल्लेख गरिएको छ।

एसियाली विकास बैंकको लगानी रहेको यो आयोजनामा ३७ करोड ७९ लाख रूपैयाँ लागत लाग्ने सम्झौतामा उल्लेख छ। निर्माण भएको पाँच वर्षसम्म मर्मतसम्भारको काम पनि सोही ठेकेदार कम्पनीबाट हुने गरी सम्झौता गरिएको छ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu