कपिलवस्तुमा ओमिक्रोन’ भित्रिन नदिन उच्च सर्तकता
कपिलवस्तु-कपिलवस्तुको सीमा क्षेत्रमा कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ को सङ्क्रमण भित्रिन नदिन उच्च सर्तकता अपनाइएको छ । प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले सम्पूर्ण सुरक्षा निकायलाई सिमा क्षेत्रमा थप कडाई गर्न निर्देशन दिईएको बताउनु भयो ।
बिचमा केही समय सिमा क्षेत्रमा खुकुलो भएको तर अब कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का संक्रमित भारतबाट नेपालमा प्रवेश गर्न सक्ने अवस्थालाई मध्येनजर गरी आवश्यक सावधानी अपनाईएको प्रजिअ पाण्डेले दाबी गर्नु भयो ।
सिमा क्षेत्र हुदैं नेपाल आउने शकांस्पद व्यक्तिलाई सोही स्थानमा स्थापित हेस्थ डेस्कमा राख्ने गरेको उहाँले बताउनु भयो । स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले सीमा क्षेत्रमा मास्क र सेनिटाइजरको प्रयोगलाई कडाइ गर्दै खोपको मात्रा पूरा भएको वा नभएको समेत निगरानीमा राख्न र शङ्कास्पद भए ‘रेपिड एन्टिजेन टेष्ट’ गर्न निर्देशन दिइएको जानकारी दिनु भयो ।
यस्तै उहाँले कसैलाई कोरोना संक्रमण पुष्टि भए क्वारेन्टाईन तथा आईसोलेसन गर्ने व्यवस्था गरेको बताउनु भयो । उनले खोपको मात्रा पुरा नगरेका नेपालीलाई सिमा क्षेत्रबाट स्वादेश आउन दिईएको बताउँदै खोप लगाउन चाहनेले सम्बन्धित पालिकामा सम्पर्क गर्न आग्रह गरे । हाल कपिलवस्तुका अस्पतालमा एक जना पनि कोरोना संक्रमित नरहेको उहाँले दाबी गर्नु भयो ।