ट्रकले ठक्कर दिँदा नवलपरासीमा पुल भासियो, राजमार्ग अवरुद्ध
२९ साउन, नवलपरासी । पूर्वी नवलपरासीको अरुणखोलामाथिको पुल ट्रकको ठक्करका कारण भासिएको छ । पुल भासिएपछि सवारी आवागमन अवरुद्ध भएको छ ।
पूर्वबाट पश्चिमतर्फ गइरहेको ना ६ ख ४७१ नम्बरको ट्रकले बुधबार बिहान ठक्कर दिँदा पुल भासिएको हो । ट्रकले बायाँ साइडमा ठक्कर दिँदा पुलको दक्षिणतर्फको भाग डेढ मिटर गहिरो भासिएको इलाका प्रहरी कार्यालय अरुणखोलाका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले अनलाइनखबरलाई जानकारी दिए । पुल भासिएपछि प्रहरीले ठूला सवारी साधन आवतजावतमा रोक लगाएको छ । आवागमनमा रोकिएपछि सयौं सवारी साधन तथा यात्रु जाममा फसेका छन् । साना सवारी साधन भने चलिरहेका छन् ।
प्रहरी निरीक्षक अधिकारीले पुलमा रहेको ट्रक हटाएर वैकल्पिक बाटो खुलाउने प्रयास भइरहेको जानकारी दिए । त्यसका लागि सडक डिभिजन कार्यालय र स्थानीय निकायसँग समन्वय भइरहेको उनले बताए ।