सञ्चार माध्यमलाई ल्यापटप वितरण
बाँके । कोहलपुर नगरपालिकाले सञ्चार माध्यमको विकासका लागि भन्दै कम्प्यूटर, ल्यापटप वितरण गरेको छ । ल्यापटप वितरण पद्धति नै गलत रहेको पत्रकार महासंघ बाँकेका उपाध्यक्षले बताउनुभएको छ । आर्थिक वर्ष २०७५/२०७६ मा पत्रकारका लागि छुट्याइएको बजेटको आधारमा कोहलपुर नगरपालिकामा रहेका ८ वटा सञ्चार माध्यमलाई प्राविधिक सहयोग गरेको हो ।
कोहलपुर नगरपालिकाले वितरण गरेका सामग्रीहरु सञ्चार माध्यमलाई भन्दा श्रम गर्ने सञ्चारकर्मीलाई वितरण गर्नुपर्ने नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष प्रदिप वाग्लेले बताउनुभयो । सञ्चार क्षेत्रमा छुट्टाएइको बजेट सञ्चार माध्यमलाई भन्दा सञ्चारकर्मीहरुको क्षमता विकासका लागि हुनु पर्नेमा वाग्लेले जोड दिनुभएको थियो । वाग्लेले सञ्चार माध्यमलाई ल्यापटप वितरण गर्दा नगरपालिकाका नराम्रा पक्षहरु ओझेलमा पर्नसक्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले कोहलपुर क्षेत्रमा रहेका विभिन्न संघ संस्थाहरुलाई क्षमता विकासका लागि सहयोग गर्न सक्ने भएकाले नगरपालिकाले सहयोग गरेको बताउनुभयो । मेयर रावतले नगरपालिकाका पक्षमा समाचार लेख्नका लागि नभई नगरपालिकाका गलत र सही समाचार जनतासम्म पु¥याउने माध्यम भएकाले सञ्चार क्षेत्रमा सहयोग गरेका अभिव्यक्ति दिएका थिए ।
कोहलपुर नगरपालिकाले कोहलपुर क्षेत्रमा रहेका पत्रिका, एफ.एम, अनलाइन गरी ८ वटा सञ्चार माध्यमलाई कम्प्यूटर तथा ल्यापटप वितरण गरेको हो ।