‘नेपालको संविधान विश्वकै अनुपम’
काठमाडौं । संविधान दिवसमा विभिन्न पार्टीका शीर्ष नेताले शुभकामना दिनुभएको छ ।
पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान विश्वव्यापी मान्यतामा आधारित भएको उल्लेख गर्नुभएको छ ।
‘संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गरेको छ’ उहाँको सन्देशमा उल्लेख छ, ‘सात दशकदेखि बहुलवादमा आधारित बहुदलीय संसदीय लोकतन्त्रको अभ्यास गर्ने, राजनीतिक र धार्मिक स्वतन्त्रता भएको, भय र गरिबीबाट मुक्त समाज निर्माण संकल्प नयाँ संविधानमा दृढताका साथ स्थापित भएको छ ।’
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालको संविधान विश्वकै अनुपम दस्तावेज भएको उल्लेख गर्नुभएको छ । संविधान बनाउने बेला अनेक कुरा आए’ उहाँले स्मरण गर्नुभएको छ, ‘तर पनि हामीले हाम्रो संविधान सफल बनाई छाड्यौं । यो संविधान आफैंमा अनुपम दस्तावेज हो ।’