बंगलादेशका राष्ट्रपति अब्दुल हमिद काठमाडौंमा
काठमाडौं : जनगणतान्त्रिक बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद काठमाडौँ आइपुगेका छन्।
उनी विशेष विमानबाट मंगलबार दिउँसो काठमाडौं उत्रिएका हुन्। उनी नेपालको चारदिने औपचारिक राजकीय भ्रमणमा आएका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले विमानस्थलमै पुगेर स्वागत गरेकी छन्। राष्ट्रपति भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपालको राजकीय भ्रमणमा आएका हुन्।
परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति हमिद कात्तिक २६ गतेदेखि २९ गतेसम्म नेपालको औपचारिक भ्रमणमा रहनेछन्।
विशिष्ट भेटवार्ता, स्वागत समारोह, रात्रिभोज लगायतलाई सम्मानित ढङ्गबाट अघि बढाउने गरी शिष्टाचार महाशाखाले तयारी भइसकेको छ। भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र बङ्गलादेशका राष्ट्रपति हमिदबीच उच्चस्तरीय भेटवार्ता हुनेछ।
सो क्रममा राष्ट्रपति भण्डारीले समकक्षीको सम्मानमा रात्रिभोज आयोजना गर्नुहुने कार्यक्रम छ। मन्त्रालयका अनुसार उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बङ्गलादेशका राष्ट्रपति हमिदसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम तय भएको छ। त्यस्तै उच्च राजनीतिक नेतृत्वले समेत उनीसँग भेटवार्ता गर्नेछन्।
भ्रमणमा रहँदा उहाँले राजधानी तथा भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचीकृत ऐतिहासिक स्थल, प्रागऐतिहासिक तथा सांस्कृतिक क्षेत्रको भ्रमण गर्नेछन्। त्यस्तै राजधानीबाहिरको पर्यटकीय नगरी पोखरालगायत पर्यटकीय क्षेत्रको समेत उहाँले अवलोकन भ्रमण गर्ने कार्यक्रम छ।