एमाले विभाजन हुन लाग्यो जोगाऔं : योगेश भट्टराई
काठमाडौं – नेकपा एमाले माधव कुमार नेपाल समूहका नेता योगेश भट्टराईले पार्टी विभाजन हुनबाट बचाउन सम्बन्धित सबैले सक्दो प्रयास गर्नुपर्ने बताउनु भएको छ ।
अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाएको संसदीय दलको बैठकमा आफ्नो पक्षका सांसद पनि सहभागी हुने संकेत देखिएपछि नेता भट्टराईले थोरै लचकता अपनाएर भए पनि पार्टी एकता जोगाउनुपर्ने धारणा सार्वजनिक गर्नु भएको हो ।
‘नेकपा एमालेको एकता कायम राख्न सबैले हरसम्भव कोसिस गरौं। थोरै पनि लचकताबाट यो सम्भव छ,’ संसदीय दलको बैठकको पूर्वसन्ध्या बिहीबार राति सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ , ‘बिग्रेपछि हुने नोक्सानीले मुलुकलाई दशकौं पछि धकेल्ने छ। अतिवाद र अस्थिरताले के सम्म गर्छ निकट विगतलाई सम्झे मात्र पुग्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज दिउँसो संसदीय दलको बैठक बस्दै छ। जसमा नेपाल समूहले पनि सहभागी हुने संकेत देखाएको छ। यसअघि नेपाल पक्षले ओलीले राखेको बैठक बहिष्कार गरिरहेको थियो।