ओलीको ‘दूत’ बनेर महेश बस्नेतको रेशम चौधरीसगँ भेट
काठमाडौं-जेलमा रहेका जनता समाजवादी पार्टीका सांसद रेशम चौधरीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीको ‘दूत’ बनेर एमाले सांसद महेश बस्नेत डिल्लीबजार कारागार पुग्नुभएको हो ।
एसएसपी लक्ष्मण न्यौपानेसहितको टीकापुर हत्याकाण्डका मुख्य आरोपी चौधरीलाई भेट्न बस्नेत शुक्रबार बिहान कारागार पुग्नुभएको हो ।समाजवादी पार्टीसँग सत्ता साझेदारीका लागि प्रधानमन्त्री ओलीले कुराकानी अघि बढाइरहेका बेला बस्नेतले चौधरीलाई भेटेका हुन्। संविधान संशोधनसहित टीकापुर हत्याकाण्डका आरोपीलाई रिहा गर्नुपर्नेलगायत माग जसपाको छ।
चौधरीको रिहाइ र संविधान संशोधन विषय अगाडि बढे ओलीसँग साझेदारी गर्न जसपाका नेता महन्थ ठाकुर र राजेन्द्र महतो सकारात्मक देखिनुभएको छ ।
सांसद बस्नेतले चौधरीको रिहाइसहितको जसपा मागमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ‘विशेष’ निर्णय गरिसकेकाले आफू भेट्न जेल पुगेको बताउनुभयो।
‘उहाँहरूको मागबारे मन्त्रिपरिषदले विशेष निर्णय गरेको मैले सूचना पाएको छु, त्यसैले म भेट्न गएँ,’ बस्नेतले भन्नु
भयो, ‘विप्लव समूहका नेता कार्यकर्ता रिहा गर्न भएको सम्झौताकै स्पिरिटमा रहेर जसपाको माग सम्बोधन गर्ने विषयमा मन्त्रिपरिषदले विशेष निर्णय गरेको अवस्थामा म उहाँलाई भेट्न पुगेको हुँ।’
चौधरीलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दीपायलले जन्मकैद हुने फैसला गरेको थियो।सो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।भेटमा सांसद चौधरीले प्रधानमन्त्री ओलीले नै पार्टीको एजेन्डालाई सम्बोधन गर्न सक्ने भएकाले आफूहरू सकारात्मक भएको प्रतिक्रिया दिनुभउको छ ।