जसपामा ठाकुर पक्षले उपेन्द्रलाई थाहा नदिई चुन्यो महतोलाई संसदीय दलको नेता
काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ ।बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिनु भयो । बैठकलगत्तै सांसदहरुलाई लिएर अध्यक्ष महन्थ ठाकुर र नेता महतो भक्तपुरस्थित एक रिसोर्टमा पुग्नु भएको थियो , जहाँ एमाले संसाद महेश बस्नेत पनि पुग्नु भएको थियो ।
महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको उहाँको दाबी छ ।सो पार्टीको महन्थ ठाकुर पक्षका सांसदहरुको हिजो बसेको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको हो । जसपाका सांसद अकवाल मियाँका अनुसार हिजो बबरमहलमा बसेको संसदीय दलको बहुमत सदस्यको बैठकले महतोलाई संसदीय दलको नेतामा चयन गरेको हो ।
उक्त निर्णयबारे जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव पक्षलाई कुनै जानकारी छैन । पार्टीमा संसदीय दलको नेताका लागि उपेन्द्र यादव, महन्थ ठाकुर र राजेन्द्र महतोले दावी गर्दै आउनु भएको थियो ।
जसपामा दलको नेता चयनको विषयमा कुरा मिलिरहेको थिएन । पछिल्लो समय अध्यक्ष ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा बहुमत पुर्याउनका लागि संकलन गरेको हस्ताक्षर अभियानमा राजेन्द्र महतो सहभागी हुनु भएन । हस्ताक्षर जुटाएर महन्थ ठाकुर स्वयं संसदीय दलको नेता बन्न थालेको भन्दै महतो हस्ताक्षर कार्यक्रममा सहभागी हुनु भएन ।