Connect with us
Kapilvast Forest

कोरोनाबाट हप्ता दिनमा एकै परिवारका ३ जनाको मृत्यु

२०७८, १३ जेष्ठ बिहीबारमा प्रकाशित

 बुटवल -बुटवलमा कोरोना संक्रमणबाट एक हप्ताको अवधिमा एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा एकै परिवारका पाँच सदस्यमध्ये बाबु आमा र छोराको एक हप्ता अवधिमा मृत्यु भएको हो । वैैशाख अन्तिम साता उक्त परिवारका आमा र छोरामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

संक्रमणपछि ३९ वर्षका छोराको अवस्था गम्भीर भएपछि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो । ५५ वर्षीया आमाको स्वास्थ्यमा भने खासै जटिल समस्या थिएन । त्यसैले उहाँ घरमै आइसोलेसनमा बस्नुभयो । तर जेठ ५ गते उहाँको घरमै मृत्यु भयो ।

त्यसबीचमै ६९ वर्षीय बुबामा पनि कोरोना संक्रमण भयो र उपचारका लागि युनिभर्सल मेडिकल कलेजमा भर्ना गरियो । उपचारकै क्रममा जेठ ७ गते छोराको र जेठ १२ गते बुबाका मृत्यु भयो ।

एक हप्तामा एकै परिवारका तीनजनाको मृत्युको घटनाले स्तब्ध बनाएको बुटवल उपमहानगरपालिका(१) का वडाअध्यक्ष तथा मृतकका छिमेकी पदमबहादुर थापाले बताउनुभयो ।

संक्रमित भएपछि समयमै अस्पताल पुर्‍याए पनि अकल्पनीय घटना भएको उहाँले बताउनुभयो । ‘उहाँहरुलाई अस्पतालमा बेड र अक्सिजन, औषधिका लागि पैसाको कुनै कमी हुन दिएका थिएनौं’ वडा अध्यक्ष थापाले भन्नुभयो , ‘उपचारका सबै विधि र सबै प्रयास गर्दा पनि बचाउन सकिएन ।’

मृतकका अर्का छिमेकीले यो घटनाले कोरोनाबाट धेरै सचेत हुनुपर्ने शिक्षा दिएको बताउनुभयो । ‘छोरा भर्खरका युवा र एकदमै हट्टाकट्टा हुनुन्थ्यो, कोरोनालाई सजिलै जित्छन् भन्ने विश्वास थियो’ उहाँले भन्नुभयो ‘तर उहाँको मृत्युले स्वस्थ र युवा उमेरका पनि सचेत हुनुपर्छ भन्ने देखायो ।’

यस्तै उक्त परिवारका ५ सदस्यमध्ये ३९ वर्षकी बुहारी पनि संक्रमित भएर बुटवलको एक आइसोलेसन सेन्टरमा हुनुन्छ । उहाँका ६ वर्षीय छोरामा भने कोरोना संक्रमण देखिएको छैन । उहाँ आफन्तको घरमा हुनुन्छ ।

कोरोना संक्रमणका कारण बुटवल उपमहानगरपालिकामा मात्रै १ सय ३० जना भन्दा बढीको मृत्यु भएको र १ हजार ८७ जना सक्रिय संक्रमित रहेको बुटवल उपमहानगरपालिकाले जनाएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu