रेडपाण्डाको छाला र भालुको अङ्गसहित तीन जनालाई पक्राउ
नेपालगञ्ज – बाँके प्रहरीले नेपालगन्जबाट दुर्लभ वन्यजन्तु रेडपाण्डाको छाला र भालुको अङ्गसहित तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेले आज बिहान पत्रकार सम्मेलन गर्दै बरामद गरिएको एक थान रेडपाण्डाको छाला र ४ वटा भालुको पित्तसहित ३ जनालाई सार्वजनिक गरेको हो ।
विशेष सूचनाका आधारमा गए राति पौने ९ बजे लुम्बिनी प्रदेश प्रहरी ब्युरोका प्रहरी नायब निरीक्षक विष्णु गिरीको कमाण्डसहित गएको बाँके प्रहरीको संयुक्त टोलीले नेपालगन्ज वडा नम्बर १ स्थित पुष्पलाल चोकमा रहेको राप्ती गेस्ट हाउसबाट लुकिछिपी बसिरहेको अवस्थामा वन्यजन्तुको छाला र अङ्गसहित दाङ घोराही ४ का ४९ वर्षीय भक्त बहादुर पुन, सोही ठाउँका ४१ वर्षीय केशव बहादुर पुन र शान्तिनगर गाउँपालिका १ दाङका २९ वर्षीय रोबिन बुढालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।
पक्राउ परेका तीनै जना र बरामद गरिएको छाला र अङ्गलाई जिल्ला वन कार्यालय पठाइने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।
पक्राउ परेकालाई वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार दश लाख रुपैयाँ जरिवाना तथा १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।