नेपालका सबै दलसँग सहकार्य गर्न चीन तयार : राजदूत होउ
काठमाडौं -नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका सबै राजनीतिक दलसँग निरन्तर सहकार्य गर्न चीन तयार रहेको बताएकी छन् ।सोमबार बिहान आयोजित भर्चुअल पत्रकार सम्मेलनमा चिनियाँ राजदूत होउले ‘बेल्ट एण्ड रोड इनिसियटिभ’ निर्माणका लागि नेपाल लगायत सबै मुलुकका राजनीतिक दल र संगठनहरुसँग मिलेर निरन्तर काम चीन तयार रहेको बताइन् ।
शान्ति, विकास, पारस्परिक लाभ र सहकार्यलाई प्रवर्द्धन गर्न चीन प्रतिवद्ध रहेको भन्दै उनले शान्तिपूर्ण विकासको बाटोमा अघि बढ्न सबै तयार रहनुपर्ने धारणा राखिन् ।
चिनियाँ राजदूत होउले नेपाल चीनको एक महत्वपूर्ण साझेदार भएको र बिआरआईमा सहकार्य भइरहेको उनले उल्लेख गरेकी छन् । बिआरआई अन्तर्गत बहुआयामिक सीमापार कनेक्टिभिटीले विस्तारै आकार लिँदै गएको उनले बताइन् ।
कोरोना महामारीमा चीनले नेपालसहित विश्वलाई सहयोग गरेको र नेपालसहित १०० भन्दा बढी मुलुकलाई ४५० मिलियन डोज उपलब्ध गराएका भन्दै राजदूतले भनिन्, ‘कोरोना महामारीविरुद्ध लड्न चीनले अन्तर्राष्ट्रिय सहकार्यलाई अगाडि बढाएको छ । भ्याक्सिनमा सबैको पहुँचका लागि प्रतिवद्ध छ ।’
नेपालले पनि चीनलाई अप्ठ्यारो परेको समयमा सहयोग गरेको उल्लेख गर्दै राजदूतले भनिन्, ‘मानव अधिकार र कोरोनाको उत्पतिको विषयमा केही मुलुकले चीनविरुद्ध गरेको गलत प्रचारको विषयमा नेपालले चीनको पक्षमा बोलेको छ ।’
चीनले हालै स्थापना गरेको चीन–दक्षिण एसियाली मुलुक गरिबी निवारण र सहकार्य केन्द्र स्थापना गरेको र त्यसका लागि नेपाल पनि सहमत भएको उनले स्मरण गरिन् । चिनियाँ राजदूत होउले भनिन्, ‘चीन विकासमा आफूले हासिल गरेको शिक्षा दक्षिण एसियाली मुलुकहरुलाई पनि बाँड्न चाहन्छ ।’