निर्मला पन्तको लागि दीप प्रज्वलन
काठमाडौं-कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको तीन वर्ष वितेको छ । तर अहिलेसम्म दोषीको पहिचान हुन सकेको भने छैन । निर्मला हत्या काण्ड रहस्यमै रहेको अबस्था छ । निर्मलाको न्यायको लागि मुलुकको विभिन्न स्थानमा दीप प्रज्वलन गरेको छ । बुटवलको देवीनगरमा ‘मिसन टु सपोर्ट’ले उनी लगायत सम्पूर्ण बलात्कृत महिलाहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।
“न्यायको लागि आवाज सुनीदेउन ए बहिरा सरकार” निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पुग्दा पनि सरकार के गर्दैछ ? भन्ने व्यानर बोकेका छन् । ‘मिसन टु सपोर्ट’का संस्थापक जागृत पराजुलीले सम्पूर्ण बलात्कृत दिदी–बहिनीको न्यायको निम्ति दीप प्रज्वलन गरिएको बताए । अहिलेसम्म सरकारले न्याय दिन नसक्नु दुखद भएको उनले बताए ।
त्यसैगरी, कार्यक्रमको अध्यक्षको रुपमा बोल्दै बिएफडिएम टिम लिडरका प्रेमनाथ गौडेलले पछिल्लो समय बलात्कार जस्ता जघन्य अपराध समाजमा बढ्दै जानुले कोहि पनि नेपाली चेली सुरक्षित नभएको बताए । कुनै पनि निकायले निर्मला पन्त जस्ता चेलीले यतिका समय बितिसक्दा पनि न्याय नपाउनुले कतै न्याय हराएको त होईन हाम्रो देशमा भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा सभापतिको तर्फबाट सामाजिक संजाल गुल्मी पिस अफ हेभन ग्रुपका सक्रिय सदस्य सन्तोष शर्माले बोल्दै राजनीति र पहुँचको खोल ओढेर निर्मला पन्त जस्ता हजारौं दिदी–बहिनीले न्याय पाउन नसकेको बताए । यसैगरी यी र यस्ता घटना दिनहुुँ बढ्दो क्रममा रहेकोले यसतर्फ सरकारको ध्यानाकर्षण गराउदै छिटोभन्दा छिटो न्यायको निम्ति आग्रह गरेका थिए । दीप प्रज्वलन कार्यक्रम बुटवल, काठमाडौं, विराटनगर, बर्दिया, दैलेख, डोटी, पोखरा, इटहरी लगायत स्थानमा भएको थियो ।