धितोपत्र बोर्ड अध्यक्ष ढुंगानालाई कारबाही गर्न जाँचबुझ समितिको सिफारिस
काठमाडौं-नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई कारवाही गर्न जाँचबुझ समितिले सिफारिस गरेको छ । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले मंगलवार सकारलाई प्रतिवेदन बुझाएको छ ।
प्रतिवेदनमा बोर्ड अध्यक्ष भएकै बेला छोरी रेविका ढंगानाको नाममा १० हजार शेयर खरिद गरेको पाइएको र उक्त कार्य पदीय आचारणविरुद्ध भएको समितिको निष्कर्ष छ । बिवाहित छोरी भएपनि आफैंले रकम हालेर शेयर किनेको पाइएको समितिले निष्कर्ष निकालेको अर्थमन्त्रालय श्रोतले बताएको छ ।
ढुंगानाले कानूनविपरीत बुक बिल्डिङका क्रममा रहेको सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएर विवादमा तानिएपछि सरकारले २०७८ भदौ १६ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा विज्ञ सदस्य नारायणप्रसाद पौडेल र सहसचिव अर्जुनकुमार खड्का रहेको तीन सदस्यीय जाँचबुझ समिति गठन गरेको थियो ।
स्रोतका अनुसार ‘पदीय आचरणविरुद्ध शेयर किनबेच गरेको पाइएको भन्दै दोषिलाई कारबाही गर्ने जिम्बेवारी सरकारको काँधमा आएको छ’ प्रतिवेदनमा उल्लेख छ । धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पुर्याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरीत काम कारवाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।
धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ७ को उपदफा ७ र नेपाल धितोपत्र बोर्ड सम्बन्धी नियमावली २०६४ को नियम ११ बमोजिम गठित समितिले तोकिएको समयभित्रै प्रतिवेदन पेश गरेको हो ।
प्रधानमन्त्रीसँग सल्लाह गरेपछिमात्रै निर्णय
अर्थमन्त्रीले प्रतिवेदन बुझे पनि सार्वजनिक भने गरिएको छैन । प्रतिवेदनका विषयमा अर्थमन्त्रीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आवश्यक निर्णय लिने बताएका छन् ।
प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले शेयर कारोबारमा ठूलो संख्यामा आम जनता सहभागी भइरहेको भन्दै शेयर कारोबारमा आउने सर्वसाधारणको हितको रक्षा गर्नु सरकारको दायित्व भएको बताए ।
उनले प्रतिवेदनको अध्ययन गरी जाँचबुझ समितिले दिएको सुझावअनुसार आवश्यक प्रक्रिया अगाडि बढाउने पनि बताए । जाँचबुझको प्रक्रियाले शेयर बजारलाई व्यवस्थित र सुरक्षित बनाउन मद्दत पुग्ने उनले विश्वास व्यक्त गरेे ।
सरकारले यसको अध्ययन गरेर जाँचबुझ समितिले दिएको सुझाव अनुसार आवश्यक प्रक्रियामा अगाडि बढ्ने अर्थमन्त्री शर्माको भनाइ छ । शेयर कारोबारमा आम जनता ठुलो संख्या सहभागी भइरहेको र शेयर कारोबार सम्बन्धी सूचनाहरु, त्यसको बारेमा जानकारीहरु कम हुँदाहुँदै पनि कारोबारमा ठुलो संख्या सहभागी भइरहेको भन्दै लगानीकर्ताको सुरक्षा सरकारको पनि दायित्व भएको उनले बताए ।
‘यो प्रक्रियाले शेयर बजारलाई व्यवस्थित गर्ने, सुरक्षित गर्ने कुरामा थप मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएको छु, सर्वसाधारणको अहित नहोस् भन्ने कुरामा सचेत रहेको जानकारी गराउँछु’ अर्थमन्त्री शर्माले भनेका छन् ।