‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार
काठमाडौं –सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिनु भएको छ ।
बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुग्नु भएको हो ।
सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अवरोध अन्त्य गर्न चाहेको बताउनु भयो ।
‘प्रधानमन्त्रीज्यू एमाले अध्यक्षसँग आवश्यक परे एक्लै संवाद गर्न पनि तयार हुनुभएको छ, उहाँ संसद्को गतिरोध अन्त्य गर्न चाहनुहुन्छ,’ राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले भन्नु भयो ।कांग्रेस नेता मीन विश्वकर्माले प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक ‘डेडलक’ अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवाद चाहेको बताउनु भयो ।
‘प्रधानमन्त्रीले मुलुकमा देखिएको राजनीतिक डेडलक अन्त्य गर्न प्रमुख प्रतिपक्षसँग निरन्तर संवादको प्रक्रिया अघि बढाइरहनुभएको छ, एमालेका दोस्रो तहका नेताहरूसँग अझै पनि सत्ता पक्षले त्यो प्रयासलाई जारी राखेको छ,’ नेता विश्वकर्माले भन्नु भयो ।उहाँले सर्वदलीय बैठकसमेत एमालेसँगको संवादकै आधारमा तय भएको र अन्त्यमा सो दलबाट बैठकमा सहभागिता भने नभएको बताउनु भयो ।
राजधानी