कृष्णनगरमा हैजा फैलिएको आशंका, विरामीको संख्या २४० नाघ्यो
कपिलवस्तु-कपिलवस्तुको कृष्णनगर नगरपालिकामा हैजा फैलिएको आशंका गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु, प्रदेश स्वास्थ्य निर्देशनालयको अनुगमन टोलीले विरामी को लक्षण र संक्रमणको अवस्था हेर्दा हैजा फैलिएको आशंका गरेका छन् । रोगको पुष्टि गर्नका लागि केही विरामीको दिसाको नमुना संकलन गरी ल्याबमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताउनुभयो । नमुनाको नतिजा आउन कम्तीमा ४८ घण्टा लाग्ने अनुमान गरिएको छ ।
प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मीको टोली परिचालन भए पनि विरामी हुनेको दर बढ्दो रहेको छ । मंगलबार राति जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार १२० जना झाडाबान्ताको विरामी रहेका थिए । बुधवार बिहान १० बजे विरामी को संख्या २४० नाघेको कार्यालयका हेल्थ असिस्टेन्ट उमेशचन्द्र घिमिरेले बताउनुभयो । विरामी थपिएपछि शिवराज अस्पताल बहादुरगन्जमा एउटै बेडमा तीनजना राखेर उपचार गर्ने बाध्यता रहेको शिवराज अस्पतालका चिकित्सक मुकेश चौधरीले बताउनुभयो । भर्ना भएका मध्ये ३५ जनालाई थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल र तौलिहवा अस्पतालमा रेफर गरिएको छ ।
बुधवार विहान २४० भन्दा बढी विरामी भएको बताइएको छ । यो तथ्यांक शिवराज अस्पताल र घरमा पुगी जाँच गर्नेको मात्र रहेको हो । पालिकाभर जम्मा प्रभावितको संख्या यकिन हुन सकेको छैन । नगरपालिकाको वडा नं। ७, ८ र ९ का सुखरामपुर, जमुनी, देवानगडिया, बहादुरगञ्ज, गणेशपुर, डावरालगायतका बस्तीमा रोग फैलिएको छ । प्रभावित क्षेत्रमा विरामीहरु आफूलाई पायक पर्ने ठाउँमा उपचार गराउँदै आएका छन् ।
पालिकाका निजी क्लिनिकमा समेत विरामी भर्ना गरी उपचार गराउँदै आएका छन् । जसको तथ्यांक पालिकासँग आउन सकेको छैन । यसैगरी शिवराज अस्पतालमा विरामीको चाप बढेपछि अस्पतालको गल्ली, बरन्डा र रोग नियन्त्रणमा आएका विरामीलाई अस्पताल नजिक रहेको राम गोरखा माविमा उपचार गरिएको छ । पालिका भरी रोग प्रभावितको संख्या बुधवार साँझ सम्म अपडेट हुने नगरपालिका स्वास्थ्य शाखा प्रमुख शंकर भट्टराइले बताउनु भयो ।
पैसा नभएको कारणले उपचार गराउन लगेनन्
रोग फैलिँदा नगरपालिकाको वडा नं। ८ बहादुरगञ्जका दुई जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा वर्ष ४५ का राम प्रसाद केवट र वर्ष ८ का राज कश्यप रहेका छन् ।