Connect with us
Kapilvast Forest

लुम्बिनी बौद्ध विश्वविद्यालयले लुम्बिनीमा अस्पताल बनाउने

२०७८, २१ आश्विन बिहीबारमा प्रकाशित

 

रुपन्देही-लुम्बिनी बौद्ध विश्वविद्यालयले परोपकार कार्यअन्तर्गत अस्पताल सञ्चालन गर्ने योजना अघि बढाएको छ । धुलिखेल अस्पतालसँगको सहकार्यमा लुम्बिनीमा अस्पताल बनाउने योजना अघि बढाइएको हो ।

बौद्ध विश्वविद्यालयले प्राज्ञिक उन्नयनका साथै परोपकारी लक्ष्यसहितका कार्यमा जोड दिँदै आएको छ । धुलिखेल अस्पतालको सहकार्यमा खडैयामा अस्पताल निर्माण गर्ने सैद्धान्तिक सहमति भएको हो । जनरल अस्पतालबाट स्वास्थ्य सेवा सुरु गर्ने योजना विश्वविद्यालयले बनाएको छ । “हामीले पहिलेदेखि नै बनाएको एउटा योजनालाई मूर्तरुप दिन खोजिरहेका छौँ”, विश्वविद्यालयका रजिष्ट्रार डा तिलकराम आचार्यले भन्न्ुभयो, “अस्पताल निर्माणले लुम्बिनी क्षेत्रका नागरिकमा स्वास्थ्य सेवाको पहुच पुग्नेछ ।” अस्पताल सञ्चालनपछि स्थानीय समुदाय विश्वविद्यालयसँग जोडिने र शैक्षिक क्रियाकलापमा समेत सघाउ पुग्ने उहाँको भनाइ छ ।

विश्वविद्यालयले शिक्षक आवास र छात्रावास भएको स्थान खडैयामा अस्पताल बनाउने योजना बनाएको छ । यो जग्गा बाहेक अन्य फराकिलो क्षेत्रको समेत खोजि भइरहेको रजिष्ट्रार आचार्यले बताउनुभयो । अस्पताल निर्माणपछि लुम्बिनी क्षेत्रवासीले उपचारका लागि बाहिर धाउनुपर्ने बाध्यता हट्नेछ । अहिले सामान्य उपचारका लागि पनि भैरहवा, बुटवल आउनुपर्ने बाध्यता छ । अस्पतालमा विशेषज्ञ डाक्टरसहित आठ जनासम्म स्वास्थ्यकर्मी रहने परिकल्पना गरिएको छ । यसलाई विस्तार गर्दै ५० शय्यासम्मको अस्पताल सञ्चालन गर्ने योजना रहेको छ ।

विश्वविद्यालयको पहलपछि धुलिखेल अस्पतालको प्राविधिक टोलीले प्रस्तावित अस्पताल निर्माणस्थलको अध्ययन गरेको छ । धुलिखेल अस्पतालका डा प्रवीन कर्माचार्य र दिनेश थापाको टोली तथा विश्वविद्यालयको टोलीले अस्पताल निर्माणस्थलको अवलोकन गरेको हो । धुलिखेल अस्पतालले विभिन्न क्षेत्रमा सहकार्यमा आउटरिच सेन्टर चलाउँदै आएको छ ।

बौद्ध विश्वविद्यालयले सहकार्यका लागि प्रस्ताव गरेको हो । अस्पतालका डा कर्माचार्यले लुम्बिनीमा स्वास्थ्य सेवाका लागि सहकार्य गर्न आफूहरू तयार रहेको बताउनुभयो । “हामी बौद्ध विश्वविद्यालयसँग जोडिन पाउदा खुसी छौँ, अस्पतालको योजना पूरा हुनेछ”, उहाँले भन्नुभयो ।

अस्पतालको प्राविधिक टोलीले विश्वविद्यालयका पदाधिकारीसँग छलफलसमेत गरेको छ । सो अवसरमा उपकुलपति प्रा डा हृदयरत्न बज्राचार्यले बुद्धले भनेजस्तै बिरामीको उपचार गर्नु परोपकारको काम रहेको बताउनुभयो । विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध केन्द्रका संयोजक सञ्जीव हुमागाईंले आउटरिच स्थापनाले लुम्बिनीको स्वास्थ्य सेवालाई प्रभावकारी र सहज बनाउन सकिने सुनाउनुभयो । स्वास्थ्य जनचेतनादेखि उपचारसम्मको जिम्मेवारी विश्वविद्यालयले लिएर अघि बढ्न सक्ने उहाँको भनाइ छ ।

टोलीमा सहभागि लुम्बिनी प्रादेशिक अस्पतालका डा सागर न्यौपानेले लुम्बिनीमा जनरल सेवासहितको अस्पताल आवश्यक रहेको बताउनुभयो । विश्वविद्यालयले विभिन्न दातासँग सहकार्य गरी अस्पतालको स्रोत जुटाइने जनाएको छ । धुलिखेल अस्पतालले प्राविधक सहयोगसहित आर्थिक स्रोतको पहिचानमा समेत सहयोग गर्नेछ । तत्काल सानो स्वरुपमा अस्पताल सुरु गर्ने र त्यसको स्तरवृद्धि गर्दै लगिने योजना रहेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu