Connect with us
Kapilvast Forest

गण्डकी प्रदेश: मन्त्रालयमा न मन्त्री न कर्मचारी !

२०७८, २४ कार्तिक बुधबारमा प्रकाशित

पोखरा – नयाँ प्रदेश सरकार गठनको शुरुको डेढ महिना गण्डकीका अधिकांश मन्त्रालय मन्त्रीविहीन रहे । गठबन्धनबाट बनेको सरकारमा भागबन्डा किचलोकै कारण लामो समयसम्म मन्त्रिपरिषद्ले समेत पूर्णता पाउन सकेन ।

मन्त्रिमण्डलले पूर्णता नपाउँदा सरकार गठन भएकै दिन नियुक्त भएका मन्त्री समेत विना विभागीय भएकै कारण जिम्मेवारविहीन रहे । उनीहरु कार्यकर्ता भेटघाट र बधाइ थाप्नमै व्यस्त रहे । मन्त्रालय मन्त्रीविहीन भएपछि कर्मचारी पनि फुर्सदिला बनेका थिए । लामो समयसम्म मन्त्रीविहीन हुनुपरेपछि मन्त्रालयका कर्मचारीले भनेका थिए, ‘मन्त्री छैनन्, रिल्याक्स मूडमा छौं ।’

 

तर, अहिले पनि मन्त्रालयमा न मन्त्री देखिन्छन् न कर्मचारी । मंगलबार गण्डकीका विभिन्न मन्त्रालय पुग्दा कृषिमन्त्री चन्द्रबहादुर बुढाबाहेक अन्य कुनै पनि मन्त्रालयका मन्त्री कार्यकक्षमा देखिएनन् । मन्त्री सहित अधिकांश कर्मचारी समेत अनुपस्थित भएका कारण अधिकांश मन्त्रालय सुनसान देखिन्थ्यो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री सहित तीन वटा मन्त्रालय छ । विना विभागीय मन्त्री डोबाटे विश्वकर्मालाई समेत मन्त्रिपरिषद् कार्यालयमै कार्यकक्ष बनाइएको छ । त्यहाँ भएका मुख्यमन्त्री, अर्थ मन्त्रालय र कानून मन्त्रालयमा कुनै पनि मन्त्री थिएनन् । मुख्यमन्त्री कृष्णचन्द्र नेपालीको कार्यकक्ष बाहिर प्रदेश सांसद सहित केही सेवाग्राही पर्खाइमा थिए । ‘कोही पनि मन्त्रीज्यू हुनुहुँदो रहेनछ । मुख्यमन्त्रीज्यू पनि बाहिर जानु भा’छ रे ! कतिबेला आउनुहुन्छ, पर्खिंदैछौं’, एक सांसदले भनिन् ।

अर्थमन्त्री रामजी बरालका स्वकीय सचिव दीननाथ बरालले मन्त्री काम विशेषले बाहिर निस्किएको बताए । ‘मन्त्रीहरुमा सबैभन्दा बेलैमा कार्यालय आउने र ढिलोमात्रै घर फर्किने एकमात्र मन्त्री उहाँ हो’ बरालले अनलाइनखबरसँग भने, ‘आज अलिकति काम पर्‍यो । एउटा कार्यक्रममा जानु भा’छ ।’

अर्थ मन्त्रालयसँगै जोडिएको कानून मन्त्रालयमा समेत मन्त्री विन्दुकुमार थापा अनुपस्थित थिए । मन्त्रालयमै भेटिएका उनका स्वकीय सचिव सन्तोष बस्यालले मन्त्री काम विशेषले बाहिरिएको जानकारी दिए । ‘चाडपर्वको बेला धेरै कार्यक्रम हुने रै’छ । नगई नहुने, भर्खर मात्रै निस्किनुभएको हो’, उनले भने ।

गण्डकी प्रदेश सरकारका प्रवक्तासमेत रहेका भौतिक मन्त्री कुमार खड्का समेत आफ्नो मन्त्रालयमा उपस्थित थिएनन् । भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको सडक तथा भवन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर राम पराजुलीले चाडपर्व नसकिएकाले कर्मचारी आउनै बाँकी रहेको सुनाए । ‘तिहार सकियो, साथीहरु आउने क्रममा हुनुहुन्छ’, उनले भने ।

प्रदेशको १२ औं मन्त्री बनेका बिना विभागीय मन्त्री डोबाटे विश्वकर्मा समेत कार्यकक्षमा उपस्थित थिएनन् । मुख्यमन्त्रीको कार्यकक्ष नजिकै कार्यकक्ष रहेको विश्वकर्माको सचिवालयमा समेत कुनै कर्मचारी उपस्थित थिएनन् ।एक महिनाअघि विना विभागीयमन्त्रीमा सपथ लिएका मन्त्री विश्वकर्मा जिम्मेवारी नपाउँदा आफूले के गर्ने भन्ने अलमलमै रहेको बताउँदै आएका छन् ।

कार्यवाहकको भरमा खेलकुद मन्त्रालय

प्रदेश युवा तथा खेलकुदमन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’को मन्त्रालयसमेत खाली थियो । मन्त्री मनाङे लामो समयदेखि मन्त्रालयमा उपस्थित नभएको त्यहाँका कर्मचारीले बताए । उनी केही समयअघि काठमाडौं थिए । काठमाडौंबाट गृह जिल्ला पुगेको उनका स्वकीय सचिव रोनित गुरुङले जानकारी दिए ।

मन्त्री मनाङले स्वकीय सचिव गुरुङलाई नियमविपरीत कार्यबाहकको जिम्मा दिएका छन् । मन्त्रीको अनुपस्थितिमा गुरुङले नै कामकारबाही अघि बढाउँदै आएका छन् । ‘अहिले दाइ (मन्त्री मनाङे) फु गाउँ पुग्नु भा’छ । पर्सिसम्म आइपुग्नुहुन्छ कि !’ उनले भने ।

मन्त्री मनाङेका स्वकीय सचिव गुरुङले ठाउँ अभावका कारण कर्मचारी मन्त्रालय आउन मनै नगरेको सुनाए । उनले साँघुरो भवनमा कर्मचारी व्यवस्थापन गर्न सकस परिरहेको सुनाए । खेलकुद मन्त्रालयसँगै जोडिएको सामाजिक विकास मन्त्रालयसमेत सुनसान थियो । सामाजिक विकास मन्त्रालयमा मन्त्री मेखलाल श्रेष्ठ ‘भित्र’ लेखिएको भए पनि उनी बाहिर थिए । उनी लेकसाइडमा भएको एक कार्यक्रममा सहभागी हुन गएका थिए ।

कर्मचारी पर्यटन बिदामा छन् : प्रमुख सचिव

गण्डकी प्रदेशका प्रमुख सचिव डा दामोदर रेग्मी चाडपर्व नसकिएको र अधिकांश कर्मचारी पर्यटन बिदामा भएकाले मन्त्रालयमा कर्मचारी संख्या कम भएको स्वीकारे । उनले दसैंतिहार पछिको समयमा कामको चाप कम पर्ने भएकाले कर्मचारीले बढी बिदा लिएर पर्यटन बिदामा जाने सुनाए ।

‘तिहार पछि, छठको केही बिदामा हुन्छ । अधिकांश कर्मचारी पर्यटन बिदामा गएका छन् । यो कम काम हुने अवधि हुने हो,’ डा रेग्मीले भने, ‘अरु कर्मचारी त छन् । ती कर्मचारीबाटै अहिले काम अघि बढिरहेको छ ।’

प्रमुख सचिव रेग्मीसमेत कार्यालयमा उपस्थित थिएनन् । उनी काम विशेषले काठमाडौं रहेको र केही दिनमात्रै फर्किने जानकारी दिए । रेग्मीको अनुपस्थितिमा रामप्रसाद आचार्यलाई निमित्त प्रमुख सचिवको जिम्मेवारी दिइएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu