सह–महामन्त्रीमा भीष्मराज आङ्देम्बेद्वारा उम्मेदवारी घोषणा
काठमाडौं-नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सहमहामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रीय सदस्यसमेत रहेका आङ्देम्बेले १४औं महाधिवेशनमा आफूले सहमहामन्त्री आदिवासी(जनजाति०पदमा उम्मेदवारी दिने घोषणा गर्नु भयो ।
नेता आङ्देम्बेले नेपाली कांग्रेस पार्टीलाई चुस्त र दुरुस्त बनाउँदै २१औं शताब्दीको पार्टीमा रूपान्तरित गरी २१औं शताब्दीका युवा उमेर र सोचहरूलाई नेतृत्व गराउन सक्ने पार्टीमा रुपान्तरित गर्न सकिन्छ र त्यही ढंगबाट पार्टीलाई चलायमान गर्न नेतृत्वको आवश्यकता रहेकाले आफूले उक्त पदमा उम्मेदवारी दिन लागेको जनाउनु भयो ।
आदिवासी(जनजातिको तर्फबाट आफ्नो उम्मेदवारी रहेको उहाँले बताउनु भयो । कार्यक्रममा बोल्दै नेता आङदेम्बेले समावेशी र सहभागितामूलक लोकतन्त्रलाई सार्थक बनाउन वर्तमान संविधानको रक्षा गर्दै यसको इमान्दारीपूर्वक कार्यान्वयन गर्न नेपाली कांग्रेसलाई सबल र एकताबद्ध बनाउन आफूले पहल गर्ने पनि दाबी गर्नु भयो । आङदेम्बेले पार्टीलाई वैचारिक रुपमा स्पष्ट, सांगठनिक रुपमा गतिशील र भावनात्मक रूपमा एकताबद्ध अनि अनुशासित र प्रशिक्षित कार्यकर्ताको उर्जाशील अभियानका रुपमा विकास गर्ने पनि प्रतिबद्धता गर्नु भयो ।