यो कुनै व्यक्ति र गुटको जित होइन, कांग्रेस रूपान्तरणकाे सुरुवात हाे : शर्मा
काठमाडौं– नेपाली कांग्रेसको महामन्त्रीमा विजयी नजिकै पुग्नुभएका विश्वप्रकाश शर्माले आफ्नो विजय व्यक्ति र गुटको विजय नभएको बताउनुभएको छ । सानेपामा पत्रकारसँग कुरा गर्दै शर्माले आफ्नो जित नेपाली कांग्रेसलाई नयाँ ढङ्गले अघि बढाउने यात्राको सुरुवात भएको बताउनुभयो ।
शर्माले सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै भन्नुभयाे, याे एउटा व्यक्तिकाे विजय पनि हाे, गुटकाे विजय पनि हाेइन । याे सिङ्गाे नेपाली कांग्रेस पार्टीलाई रूपान्तरित गर्ने, नयाँ बिहानी सुरुवात गराउने यात्राकाे प्रारम्भ हाे ।
फरक–फरक विचारबाट आएका नेताहरू विभिन्न पदमा विजयी भएकाले सबैले मिलेर कांग्रेसलाई अघि बढाउने उहाँले बताउनुभएको छ । शर्माले वीपी कोइराला जेल बसेको स्थान सुन्दरीजलबाट उम्मेदवारी घोषणा गरेको र विजयी भएको घोषणा हुनेबित्तिकै सुन्दरीजल पुगेर माटोको टीका लगाएर केहि प्रतिबद्धता जनाउने पनि जानकारी दिनुभएको छ ।