राजस्व विभागसंग व्यवसायीको छलफल– कर बढाउनु भन्दा दायरा बढाउन सुझाव
काठमाडौ- नेपाल उद्योग वाणिज्य महासंघले राजस्व बृद्धिका लागि दर्ता भएका करदतालाई मात्र थपकरको भार सृजना गर्नु भन्दा राजस्वको दायरा विस्तारमा जोड दिएको छ । ।
महासंघका पदाधिकारीहरु र राजस्व अनुसन्धान विभागका महानिर्देशक बीच भएको छलफल कार्यक्रममा सो कुरामा जोड दिइएको हो ।
दर्ता नभई आर्थिक कारोबार गर्ने र अबैध पैठारी गर्नेहरुलाई राजस्वको दायरामा ल्याउन राजस्व अनुसन्धान विभागले कार्य गर्नुपर्ने, आय कर, मूल्य अभिबृद्धिकर, अन्तःशुल्कमा दर्ता भई कारोबार गर्ने र एक्जिम कोड लिई मालवस्तु निकासी पैठारी गर्नेहरुलाई सम्बन्धित निकायले नै अनुसन्धान गर्ने व्यवस्था गर्नुपर्ने सुुझाव दिइएको थियो ।
भीसीटीएस प्रणालीमा आवद्ध भएपछि आएका मिसम्याचका समस्या निराकरण सरकारले गर्नुपर्ने, एकै जिल्ला भित्र मालवस्तु आपूर्तिगर्दा भीसीटीएस नलाग्ने व्यवस्था गर्नुपर्ने, भि.सि.टि.एस.लाई फेज अनुसार लागु गर्नुपर्ने सुझाव पनि महासंघको तर्फबाट राखिएको थियो ।
महासंघबाट दिइएका सुुझावहरुलाई संवोधन गर्नुहुदै महानिर्देशक पौडेलले करदातालाई अनावश्यक दुःख नदिने गरी र दोहोरोपना नहुने गरी राजस्व अनुसन्धान विभागले कार्य गरिरहेको जानकारी गराउनुभयो ।
भि.सि.टि.एस.र राजस्व अनुसन्धानका प्रावधानहरुको सम्बन्धमा सबै प्रदेशहरुमा छलफल कार्यक्रम गर्ने र त्यसमा महासंघसंग साझेदारीका लागि अनुुरोध समेत गर्नुभयो । साथै उहांले राजस्व सम्बन्धी सबै निकायहरुको बिचमा समन्वय गरी कार्य गर्ने समेत विश्वास दिलाउनु भयो ।
छलफल कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छा, राजस्व अनुसन्धान विभागका महानिर्देशक प्रकाश पौडेल, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरु दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन र समिति सभापतिहरु हुनुुहुन्थ्यो ।