कञ्चनजंजा देखि हिल्सासम्मको साइकल यात्रा
काठमाडौ- नेपालको साहसिक पर्यटन प्रर्वद्धनका लागि नेपाली साइक्लिस्ट मंगलकुमार लामाले पूर्वको कञ्चनजंघा देखि सुदुरपश्चिमको सिमिकोट हिल्सासम्म एकल साइकल यात्रा गर्ने भएका छन।
साईकल यात्रामा निस्कन लागेका लामालाई आइतबार पर्यटन बोर्डमा विदाई गरिएको छ ।
नेपाल पर्यटन बोर्डको प्रर्वद्धन र जिएचटी अन व्हीलको आयोजनामा हुन लागेको यो यात्रामा विभिन्न संघसंस्थाहरुको सहयोग रहेको लामाको यो यात्रा १७ सय किलोमिटर लामो रहने छ ।
पर्यटन बोर्डमा आयोजित विदाई कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेशका उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री अजय शाहले नेपालमा साहसिक पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै लामाको साइकल यात्राले नेपालको साहसिक पर्यटनमा थप टेवा पुग्ने बताउनु भयो । उहाँले साहसिक पर्यटन प्रर्वद्धनका लागि प्रदेश सरकार सधै सकारात्मक रहेको समेत बताउनुभयो ।

यस्तै बोर्डका उपाध्यक्ष चन्द्र रिजालले साहसिक पर्यटन नेपालको पहिचान भएको बताउँदै बोर्डले सिमित स्रोत साधनका बीच काम समग्र पर्यटन प्रर्वद्धनको काम गरेको जानकारी दिनुभयो ।
साईक्लिस्ट मंगल कुमार लामाले आफ्नो पहिचान भन्दा पनि देशको पहिचानको लागि आफुले कठिन र जोखिमपूर्ण यात्रामा निसक्न लागेको बताउँदै यस प्रकारका कार्यक्रममा बोर्ड सहित अन्य सरकारी निकायको सहयोग आवश्यक रहेको बताउनुभयो ।
लामाले चैत्र १८ अर्थात अप्रिल १ गते देखि कञ्चनजंघा देखि साइकल यात्रा शुरु गर्ने र सो यात्रा ६० देखि ७० दिनसम्मको हुने छ ।