कोरोना बीमाको रकम एक दुई दिनमै : अर्थमन्त्री शर्मा
रुकुम पश्चिम- अर्थमन्त्री जनार्दन शर्माले कोरोना बीमाको भुक्तानी तत्कालै सुरु गरिने बताउनुभयो ।
विभिन्न कारणले समयमै भुक्तानी हुन नसकेको उक्त कोरोना बीमा अब एकरदुई दिनमै भुक्तानी प्रक्रिया अगाडि बढाउने शर्माले बताउनुभयो ।
सोमबार गृह जिल्ला रुकुम पश्चिममा नेपाल पत्रकार महासङ्घले आयोजना गरेको पत्रकार भेटघाटमा अर्थमन्त्री शर्माले भन्नुभयो, “महामारीको बीमा गर्नुहुँदैनथ्यो, बीमा सुरु नै गरेपछि भुक्तानी गर्नुपर्छ । यसलाई हामीले कार्यान्वयन गर्नैपर्छ। ”
अर्थमन्त्री शर्माले गत आर्थिक वर्षको तुलनामा यस वर्ष साढे ४२ प्रतिशतले आयात वृद्धि भएकाले तरलताको समस्या देखिएको बताउनुभयो । रुस र युक्रेनको युद्धका कारण पेट्रोलियम पदार्थ, तामा, फलाम, खाने तेललगायतमा महँगी बढेको उहाँले बताउनुभयो । उहाँले मूल्य वृद्धि र आयात वृद्धिसँगै भएकाले आर्थिक तरलता देखिएको बताउनुभयो ।