विदेशमा रहेका नेपालीकाे नाेट मात्रै हाेइन भाेट पनि चल्ने बनाउनुपर्छ’
काठमाडाै– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले चुनावसम्बन्धी कानुनमा भएका केही व्यवस्थालाई सच्याउन आवश्यक रहेको बताउनुभएको छ । मङ्गलवार विदेशमा रहेका नेपालीहरूले पनि मताधिकारको प्रयोग गर्न पाउनुपर्ने कुराको सुनिश्चितताका लागि पार्टीको तर्फबाट निर्वाचन आयोग पुग्नुभएका महामन्त्री थापाले कानुनमा भएको व्यवस्थामा कम्तीमा पनि पाँच ठाउँमा परिवर्तन गर्नुपर्ने आवश्यक रहेको बताउनुभयो । उहाँले कानुनमा भएका केही व्यवस्थालाई सच्याउन सके विदेशमा रहेका नेपालीहरूको नाम पनि मतदाता नामावलीमा समावेश गर्नसक्ने भन्दै अबको ८/१० दिनभित्रमा निर्वाचन ऐनको विषय संसदमा पेस गर्ने प्रतिबद्धता जनाउनुभयो ।
महामन्त्री थापाले विदेशमा रहेका नेपालीहरूले मताधिकार प्रयोग गर्न पाउने व्यवस्थाका लागि चाँडै नै राजनीतिक समझदारी कायम गरी संसदमा पारित गर्ने कुरामा आफ्नाे भूमिका रहने बताउनुभयो । उहाँले सकेसम्म आउँदाे साउन १ गतेदेखि नै नेपालबाहिर रहेका नेपालीहरूकाे नाम मतदाता नामावलीमा टिपाउने कुरामा पनि छलफल भएको बताउनुभयो ।
महामन्त्री थापाले भाेलि बुधवारदेखि काठमाण्डाैमा स्थानीयवासीका लागि छुट्टै मतदाता नामावली सङ्कलन केन्द्र बनाइ बाहिरी जिल्लाका लागि फरक मतदाता नामावली सङ्कलन केन्द्रको स्थापना गर्नेबारेमा छलफल भएको पनि बताउनुभयो ।